तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को हिउँदे अधिवेशन तत्काल बोलाउन प्रतिपक्षी दलहरूको माग

काठमाडौँ । प्रतिपक्षी राजनीतिक दलका नेताहरूको आज बसेको बैठकले संसद्को हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिपक्षी दलका शीर्ष नेताहरूको बैठकले अध्यादेश मार्फत दूरगामी प्रभाव पार्ने खालका कानुनहरू समेत जारी भएकोप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल हिउँदे अधिवेशन आह्वान गरी संसद्को गरिमा र मर्यादाको सम्मान गर्न सरकारसँग माग गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् अधिवेशन बोलाउन सरकारले तत्काल प्रक्रिया थालनी नगरे आफूहरूले संसद्को विशेष अधिवेशनको माग गर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले सरकारले संसद् छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप लगाउँदै सरकारको यस्तो कार्यशैलीले नेपाली जनताले विभिन्न सङ्घर्षबाट प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरू समेत सङ्कटमा पर्ने आफूहरूको ठम्याई रहेकोले विरोधमा उत्रनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सहित प्रतिपक्षमा रहेका दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button