तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशभरि ‘सुरक्षित यात्राका लागि स्मरण कार्यक्रम’ लागु 

सुर्खेत । ट्राफिक प्रहरीले कर्णाली प्रदेशमा सुरक्षित यात्राका लागि स्मरण कार्यक्रम सञ्चालन गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले प्रदेशका दश वटै जिल्लामा ‘आफु पनि बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने मूल नाराका साथ ‘सुरक्षित यात्राका लागि स्मरण कार्यक्रम’ सञ्चालन गरेको हो ।

प्रदेशका दश वटै जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत अस्थायी ट्राफिक प्रहरी पोस्टहरूमा बिहीबारदेखि एक साथ ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धि सचेतनासहितका नयाँ रणनीतिक कार्यक्रमहरू सञ्चालन गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी (प्रहरी निरीक्षक) हरिबहादुर विसीले कर्णाली प्रदेशका बढी सवारी दुर्घटना हुने स्थानहरूमा भएका सवारी दुर्घटनाका तस्बिरहरू प्रतिबिम्बित सवारी चालक तथा सह–चालकहरुलाई लक्षित गरी ४७ स्थानमा प्रदर्शन तथा सचेतना कार्यक्रम गरिए बताउनु भयो ।

उहाँले सचेतना कार्यक्रमबाट एकै दिन, एक साथ प्रदेश भरीका १ हजार २ सय ४३ जना सवारी चालक तथा सह–चालक लाभान्वित भएको जनाउनु भयो । उहाँका अनुसार सुरक्षित यात्राका लागी स्मरण कार्यक्रमबाट कर्णाली प्रदेश भरी सवारी दुर्घटनामा न्यूनीकरण आउने अपेक्षा राखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button