मकवानपुर प्रहरीद्वारा पाँच महिनामा १६ करोड बढी राजस्व सङ्कलन
मकवानपुर।मकवानपुर प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट १६ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विश्वराज खड्काले चालु आवको पाँच महिनामा अवैध मालसामान बरामद, ट्राफिक कारबाही, सुनचाँदी, नदीजन्यलगायत विभिन्न प्रकृतिका कारबाहीबाट १६ करोड १९ लाख ४४ हजार १९३ रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।
प्रहरी उपरिक्षक खड्काका अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा कपडा, खाद्यान्न, सुन, चाँदी, सवारी साधनलगायत अवैध भन्सार छलिबाट १५ करोड ३ लाख ९० हजार ६९२ राजस्व सङ्कलन भएको छ । प्रहरी उपरीक्षक खड्काले सबैभन्दा बढी अवैध सुन बरामदबाट १२ करोड १० लाख ९२ हजार २८०, कपडा, खाद्यान्न र अन्य अवैध मालसामान बरामदबाट २ करोड ३६ लाख ६४ हजार ५२३, अवैध सवारी साधन बरामदबाट ७० लाख ८१ हजार, अवैध चाँदी बरामदबाट ३ लाख ६६ हजार ५४९ राजस्व सङ्कलन गरिएको बताउनुभयो ।
यस्तै ट्राफिक व्यवस्थापनबाट १ करोड १४ लाख ७२ हजार १ रुपैयाँ र अवैध गिट्टी बलुवा नियन्त्रणबाट ४ लाख ४१ हजार ५ सय राजस्व सङ्कलन गरिएको छ । यस बाहेक पनि साउनदेखि मङ्सिरसम्मको अवधिमा मकवानपुर प्रहरीले ६२ लाख ९० हजार ३५ रुपैयाँ विदेशी मुद्रा बरामद गरेको उहाँले बताउनुभयो । उहाँले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि विशेष कार्ययोजना लागु गरेर अभियान नै सञ्चालन गरिएको समेत जानकारी दिनुभयो ।
प्रहरी उपरिक्षक खड्काले यस अवधिमा ४७४ वटा विभिन्न मुद्दा दर्ता भएको र ३४६ जना मानिस पक्राउ परेको बताउनुभयो । उहाँले उक्त मुद्दामा ३०४ जना स्वदेशी पुरुष र २० जना महिला तथा २० जना विदेशी पुरुष र २ जना महिला रहेको बताउनुभयो । यस्तै यस अवधिमा ८७ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको समेत उहाँले बताउनुभयो ।
प्रहरी उपरिक्षक खड्काले मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडा प्रदेशको राजधानी समेत रहेको, औद्योगिक क्षेत्र तथा विभिन्न व्यापारिक निकायहरू अवस्थित रहेको हुँदा शान्ति सुरक्षामा चुनौती देखिएको बताउनुभएको छ । तर, भौगोलिक विकटताका बावजुत सुरक्षा निकाय र स्थानीय तहबिचको समन्वयमा बिपद उद्धार, अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम, कानुनी सचेतनालगायतका कार्यहरूमा सञ्चालन भएको बताउनुभयो ।
यस्तै पछिल्लो समय साइबर अपराध, आर्थिक अपराधसँग सम्बन्धित उजुरीहरूमा वृद्धि भएको उहाँले बताउनुभयो । मकवानपुर जिल्ला लागू औषधको उत्पादन, खपत, ओसार पसार, बिक्री वितरण लगायत ट्रान्जिटको रुपमा रहेको पनि प्रहरी उपरिक्षक खड्काले बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्