चिसो बढेपछि वृद्धहरूलाई न्यानो कपडा वितरण
रुपन्देही । रुपन्देही जिल्लामा चिसो बढेपछि वृद्धहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।
बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर वडा नम्बर ४, ६, १० र ११, रुपन्देहीले वृद्धवृद्धालाई कम्बल वितरण गरेको छ । मङ्गलवार सिद्धार्थनगर नगरपालिका–४ स्थित श्रीराम जानकी हनुमान मन्दिरमा कम्बल वितरण कार्यक्रम गरिएको संस्थाका अध्यक्ष श्रीचन्द जयसवालले बताउनुभयो ।
रुपन्देहीमा चिसो बढेका कारण १ सय ५० जना वृद्धहरूलाई कम्बल वितरण गरिएको कार्यक्रम संयोजक तथा सामुदायिक सेवा केन्द्रका कार्यसमिति सदस्य मनोज अग्रहरीले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठौरले समाजलाई सुरक्षित र अपराधमुक्त बनाउन प्रहरीको जिम्मेवारी र चाहना भएको र त्यसमा नागरिकको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै बुद्ध सामुदायिक सेवा केन्द्रका प्रमुख सल्लाहकार दीपक क्षेत्री न्यौपानेले यो संस्था स्थापना भएको १८ वर्ष पुगेको बताउनुभयो । उहाँले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । संस्थाका पूर्व अध्यक्ष तथा कानूनी सल्लाहकार दिलीप कुमार मल्लिकले संस्थाले वार्षिक क्यालेन्डर अनुसार कार्यक्रम गर्दै आएको बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले कम्बल वितरण कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । सिद्धार्थनगर–६ का वडाअध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवले गरिब तथा असहायहरूलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कम्बल वितरण कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार नरेन्द्र प्रसाद रौनियार, उपाध्यक्ष शुभद्रा पौडेल, सचिव केदार प्रसाद कुर्मी लगायतले बोल्दै आगामी वर्षमा पनि माघे सङ्क्रान्तिका दिन कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्