बागमती गोल्डकप फुटबल फागुनमा हुने
हेटौँडा । सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । उक्त प्रतियोगिता बागमती गाउँपालिकामा निर्मित सहिद स्मृति रङ्गशालामा सञ्चालन हुनेछ ।
बागमती गाउँपालिका खेलकुद विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म बागमती–४ झुरझुरेस्थित रङ्गशालामा हुने जानकारी दिइयो । यस अघि उक्त प्रतियोगिता जनता मावि फापर बारीको खेल मैदानमा हुँदै आएको थियो ।
प्रतियोगितामा पहिलो हुने टोलीले रु १० लाख र दोस्रो हुनेले रु पाँच लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिनुभयो ।
प्रतियोगितामा ‘ए’ डिभिजनका सात र मोफसलका तीन टोली सहभागी हुने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई रु १० हजार पुरस्कार प्रदान गरिने छ ।
फुटबल खेलको प्रवर्द्धनका लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालन गर्ने योजना बनाएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो ।
यसअघि छैटौँ संस्करणको उपाधि मछेन्द्र युथ क्लब काठमाडौँले जितेको थियो । प्रतियोगिता सञ्चालन गर्न गाउँपालिकाले रु ३० लाख सहयोग गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्