तपाईँ सुन्दै हुनुहुन्छः

कसैको वैशाखीविना एक भएर स्ववियु निर्वाचनमा उत्रन अनेरास्ववियुलाई प्रधानमन्त्रीको आव्हान

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी सङ्गठन अनेरास्ववियुलाई आग्रह गर्नुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज एमालेको केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरूको वैशाखी नटेकी आफै दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गर्नुभयो । अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ तुफान भएर अगाडि बढ्न र महान् सफलता हासिल गर्न शुभकामना दिनुभयो । 

नेपालको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुरु भएको उल्लेख गर्दै उहाँले प्रजातन्त्र स्थापना पहिले गङ्गालालले मानव अधिकारसम्बन्धी पहिलो भाषण र सङ्गठन दिनुभएको  र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी आफ्नो पार्टी भएको स्पष्ट गर्नुभयो ।

अध्यक्ष ओलीले त्यही बिउ फुकेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्तिको निर्माणको दिशामा अग्रसर भएको जनाउँदै मार्छौँ र सिद्ध्याउँदै भन्नेहरूलाई पनि आफूहरूले जनमतमा पहिलो शक्ति भएर देखाइदिएको बताउनुभयो । “खै एमाले, कहाँ छ एमाले भन्नेहरूलाई प्रतिस्पर्धाबाट ठ्याम्म उत्तानो लगाइदिएपछि थाहा हुन्छ ।”, अध्यक्ष ओलीले भन्नुभयो, “विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र सङ्घर्षले लोकप्रिय हुने क्षेत्र होइन । यो राम्रो काम गरेर शान्तिपूर्णरुपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी कमजोर भएर चुप लागेर बस्दैनौँ । म साथीहरूलाई राम्रो काममा एग्रेसिभ्ली लाग्न आग्रह गर्दछु ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग समेटिएको पुस्तकको लोकार्पण गर्नुभयो ।

कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्दै भविष्यका कर्णधारका रुपमा रहेका विद्यार्थी वर्गको पहिलो रोजाइ अनेरास्ववियु मात्रै हुन सक्ने बताउनुभयो । कार्यmममा अनेरास्ववियुका पूर्व अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमालेको जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताहरूको उपस्थिति थियो । आगामी फागुन १५ गते विश्वविद्यालयहरूमा स्ववियु निर्वाचन हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button