तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरो गएको ४ बर्ष बित्नै लाग्दा समेत पीडितले पाएनन् क्षतिपूर्ति 

बाजुरा । २०७७ साउन २५ गते बाजुराको बुढिगंगा नदीमा आएको विनाशकारी बाढी र पहिरोले बडीमालिका नगरपालिकाका नागरिकहरूलाई घरबार विहीन बनायो । 

अविरल वर्षासँगै आएको बाढीपहिरोले एक जनाको मृत्यु हुनुका साथै ३७ घरपरिवार बाढी पहिरोबाट विस्थापित हुन पुगे । विस्थापित परिवारहरूको घर जग्गा पुरै बाढीले पूर्ण रुपमा क्षतिग्रस्त बनाएर घरबारविहीन बनाएको थियो । बाजुराका ९ पालिका मध्ये ८ पालिकाहरू बाढ पहिरोबाट विस्थापित भएको जिल्ला प्रशासन बाजुराको तथ्याङ्कमा छ । बाढीपहिरोबाट घर गुमाएका नागरिकहरूलाई पहिलो,दोस्रो र तेस्रो किस्तामा दिने गरि ५० हजारका दरले ५ लाख रकम दिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्ला विपद व्यवस्थापन समितिलाई पत्राचार समेत गर्‍यो।

तर त्यो रकम बाढीपीडितले अहिले सम्म पाउन सकेका छैन । यसमा राज्य निरीह बनेको बाडीपीडितहरूको भनाई छ । बडीमालिका नगरपालिकाका बाढीपीडित स्थानीय जिल्ला प्रशासनमा आएर यो विषयमा ध्यानाकर्षण गराइ रहेका छन् । बाढि पहिरो पीडितले हाल सम्म पहिलो किस्ताको ५० हजार पाउनुपर्नेमा समेत ३५ हजार मात्र रकम उपलब्ध भएको बडीमालिका नगरपालिका–१ का बाढीपीडित कृष्ण बहादुर कार्कीले बताउनुभयो । उहाँले बाढ पहिरोबाट विस्थापित भएको ५ बर्ष भयो,तर अहिले सम्म पहिलो किस्ताकै पुरा रकम नपाएको गुनासो गर्नुभयो ।

बाढीपहिरोबाट विस्थापित भएपछि प्रशासनमा राहतका लागि निवेदन दियौँ । सरकारले पूर्ण क्षति भएकालाई मात्रै राहत दिने भएपछि प्रमाण पेश गर्न भनियो,प्रमाण पेश गर्‍यौ तर हामीले अहिले सम्म रकम नपाएको कार्कीले दुखेसो पोख्नुभयो ।

बडीमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्बर महतले प्रशासनले विभिन्न बहाना बनाई बाढी पीडितहरूको राहत दिन नचाहेको जिकिर गर्नुभयो ।  वडाअध्यक्ष महतका अनुसार पीडित पक्षले  अब पनि राहत नपाए यहाँका नागरिकहरू प्रशासनमा धर्ना दिने चेतावनी समेत दिनुभएको छ ।

बडीमालिका नगरपालिकाका बाढीपीडित नागरिकका लागी विपद व्यवस्थापन समितिले जम्मा ३७ परिवारलाई ३५ हजारका दरले प्रती परिवारलाई रकम भुक्तानी गरेको छ । बाढीबाट घरविहीन भएका परिवारहरूको नामावली स्थानीय स्तरमा संकलन गरेर पठाएको तथ्याङ्क अनुसार मनसुनजन्य विपद्का लागी १५ करोड रुपैयाँको माग गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो । तर माग अनुसारको बजेट आउन नसकेको उहाँले बताउनुभयो । हाल सम्म राहत र क्षतिपूर्ति नपाउँदा स्थानीय बाढी पीडित झन्-झन् पीडित हुँदै गएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button