दार्चुलामा तीन वटा आधारभूत अस्पतालको निर्माण सुस्त
दार्चुला । दार्चुलामा शिलान्यास गरिएका तीन ओटा आधारभूत स्वास्थ्य अस्पतालको निर्माण कार्य सुस्त रहेको छ ।
नेपाल सरकारले २०७७ मङ्सिर १५ गते देशभर ३ सय ९६ ओटा आधारभूत स्वास्थ्य अस्पतालको एक साथ अनलाइन प्रविधिबाट शिलान्यास गरेको थियो ।
प्रधानमन्त्री केपी ओलीले एकै दिन एक साथ शिलान्यास गर्नुभएका दार्चुलाका सात ओटा अस्पताल मध्ये तीन ओटा अस्पताल निर्माण कार्य सुस्त छ । लेकम, दुहुँ र अपिहिमालमा निर्माणाधीन आधारभूत अस्पतालहरूको निर्माण कार्य सुस्त रहेको हो ।
अस्पताल भवन समयमै निर्माण नहुँदा सर्वसाधारणलाई सेवा दिन समस्या भएको पालिकाहरुले जनाएका छन् । समयमै आधारभूत स्वास्थ्य अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपिहिमालका नागरिकले बिरामी हुँदा छिमेकी पालिकाको अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी देखि काठमाडौँका अस्पतालसम्म पुग्नुपर्ने बाध्यता छ ।
लेकम गाउँपालिकामा आर्थिक वर्ष ०७७ ÷०७८ मा जगदम्बा यमुना जेभीले ठेक्का पाएको १० सैय्या अस्पताल अस्पताल भवन निर्माण कार्य भर्खर सुरु भएको छ । कुल ७ करोड लागतमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणको लागि दुई पटक म्याद थप गरेपछि मात्रै अहिले निर्माण कार्यअघि बढेको लेकम गाउँपालिका लेखा अधिकृत ममता विष्टले बताइन् । उहाँका अनुसार कार्यपालिकाले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएपछि मात्रै ठेकेदारले काम सुरु गरेको छ ।
दुहुँ गाउँपालिकामा निर्माण भइरहेको १० शय्या अस्पताल पनि भर्खर मात्रै निर्माण कार्य अघि बढेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बीरसिह धामीले जानकारी दिए । आर्थिक वर्ष ०७७।०७८ मा यमुना, कौशिल जगदम्बा जेभीले कुल ८ करोड २९ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो ।
व्याँस गाउँपालिकामा आर्थिक वर्ष ०७९।८० मा १५ शय्या अस्पताल निर्माणको लागि ठेक्का सम्झौता भएको छ । कुल २४ करोड ७६ लाख ८५ हजार रुपैयाँ लागतमा सम्झौता भएको अस्पताल अहिले निर्माण कार्य भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कुवरले बताए ।
अपिहिमाल गाउँपालिकामा निर्माण भइरहेको १० शय्या अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष ०७७।०७८ मा स्वार एसोसिएट रन्जितकार जेभी धनगढीसँग कुल १० करोड ३३ लाखमा ठेक्का सम्झौता भएको थियो । तीन पटक म्याद थप भएपछि अहिले काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका सूचना अधिकारी पानसिंह धामीले जानकारी दिए ।
मालिकार्जुन गाउँपालिका र नौगाड गाउँपालिकामा अस्पताल भवन निर्माण गरेर सञ्चालनमा आएको छ । यी दुवै ठाउँमा करारमा डाक्टर नियुक्ति गरेर सेवा प्रवाह हुँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्