तराईमा शितलहर: एकद्धार प्रणाली मार्फत राहत वितरण गर्न आग्रह
बीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले चिसो र शितलहरको प्रकोपबाट बच्न/बचाउनका लागि वितरण गरिने राहत सामग्री विपद व्यवस्थापन समितिको शीघ्र कार्य टोलीलाई उपलब्ध गराउन आग्रह गरेको छ ।
आज एक सूचना जारी गर्दै जि.प्र.का कार्यालयले जाडोयामसँगै पर्सा जिल्लामा शितलहरको प्रकोप बढेको र त्यसबाट बच्न बचाउनका लागि वितरण गर्ने राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वारा प्रणाली मार्फत वितरण गर्ने निर्णय गरेकोले जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आग्रह गर्नुभएको हो ।
राहत सामग्री प्रदान गर्न इच्छुक संघ/संस्था/व्यक्तिहरूलाई जिल्लामा गठित “शीघ्र कार्यटोली“ का सदस्य वा जिल्लाका सुरक्षासँग सम्बन्धित पदाधिकारीहरूसँग सम्पर्क गरी राहत सामग्रीहरूको अभिलेखाङ्कन र वितरणमा एकद्वार प्रक्रिया अवलम्बन गर्न अनुरोध गर्नुभएको छ ।
साथै शितलहर प्रभावित समूह वा व्यक्तिहरूले आफूलाई तत्काल आवश्यक राहत सामग्रीको विवरण नजिकको सुरक्षा निकायमा टिपाउनु हुन समेत अनुरोध गरिएको छ । राहत सामग्रीहरूको वितरण कार्यलाई पारदर्शी र आवश्यकता केन्द्रित बनाउन एकद्वार प्रणाली लागू गरिएको पनि प्रमुख जिल्ला अधिकारी आर्यालले जारी गर्नुभएको सूचनामा जनाइएको छ ।
जाडोयाममा शीतलहरूबाट प्रभावित हुने अति विपन्न तथा गरिब परिवारलाई एकद्वार प्रणालीमार्फत मानवीय सहायता उपलब्ध गराउने जिल्ला विपद् व्यवस्थापन समिति पर्साले निर्णय गरेको थियो ।
यसैबिच अत्यधिक चिसो र जाडोको कारण प्रभावित सर्वसाधारण तथा बटुवाहरूलाई मध्यनजर गर्दै आज पनि वीरगन्ज महानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा दाउरा वितरण गरि आगो बालेर ताप्ने व्यवस्था मिलाएको छ ।
प्रतिक्रिया राख्नुहोस्