दुर्गम ठाउँका ९ वटा गाउँमा बिद्युत् सेवा बिस्तार : स्थानीयमा खुशियाली
मुगु । छायाँनाथ रारा नगरपालिका, मुगुको आर्थिक सहयोग तथा गमगाढ विद्युत् वितरण केन्द्र, गमगढी मुगुको सहजिकरण तथा प्राविधिक सहयोगमा वडा नं। १० र ११ का ९ वटा गाउँमा बिद्युत् सेवा बिस्तार गरिएको छ ।
छायाँनाथ रारा नगरपालिकाका का चराप, गाँडापानी, झाकोट, लुहारपोल्ना, तलीलेक, घट्ललेक , रोवा, र्याङ्चेकाटी र सालिम गाउँमा बिद्युत् सेवा बिस्तार गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिनु भयो । बुधवार औपचारिक कार्यक्रमको आयोजना गर्दै बिधिवत रूपमा बिधुत सेवाको उद्घाटन गरिएको छ।
करिब दुई वर्षको अथक प्रयासपछि विद्युत् सेवा पुर्याउन सफल भएको जनाउँदै छायाँनाथ रारा नगरपालिकाले यो परियोजनामा योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ। यस विद्युत् सेवाको सञ्चालनले स्थानीय बासिन्दाको दैनिक जीवनमा सहजता ल्याउने र समग्र विकासमा थप टेवा पुग्ने विश्वास लिइएको छ।
उद्घाटन समारोहमा नगर प्रमुख बिष्णु कुमार भाम, पूर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्ल, निवर्तमान नगरप्रमुख हरिजङ्ग शाही, नेपाली काङ्ग्रेस कार्यवाहक सभापति कर्णबहादुर रावल उप प्रमुख ऐश्वर्य मल्ल , प्रमुख प्रशासकीय अधिकृत पशुपति शाही, गमगाड वितरण केन्द्रका प्रमुख साजन ऐडी लगायतका वडा अध्यक्ष पदमराज मल्ल लगायतका वक्ताहरूले बिद्युत् सेवाबाट वञ्चित रहेका यस क्षेत्रका बासिन्दाको समृद्धिमा टेवा पुग्नुको साथै दैनिकीमा सुधार आउने र विकासको समग्र क्षेत्रमा टेवा मिल्ने बिचार ब्यक्त गर्नु भएको थियो ।
बिद्युत् उद्घाटनमा वडा अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि, प्राविधिक टोली र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो । पछिल्लो समयमा करिब १ दर्जन बस्ती समेत बिद्युतको राष्ट्रिय प्रसारण लाइनमा समेटिएका छन् ।
बिद्युत् उद्घाटन कार्यक्रममा प्राविधिक टोली र स्थानीय जनप्रतिनिधिका साथै गाउँवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यस परियोजनामा छायाँनाथ रारा नगरपालिकाको आर्थिक लगानीमा गाउँमा बिद्युत् बिस्तार भएपछि नगरको दिगो विकासको यात्रामा नयाँ अध्याय थपेको छ।
प्रतिक्रिया राख्नुहोस्