तपाईँ सुन्दै हुनुहुन्छः

नाफिज सदस्यको जनही सात लाखको दुर्घटना बिमा

काठमाडौँ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)का सदस्यहरूको साँढे रु १६ करोड बराबरको ‘सामूहिक दुर्घटना बिमा’ भएको छ । 

नाफिजले आफ्ना दुई सय ३५ जना सदस्य तथा सल्लाहकारको जनही रु सात लाखका दरले सामूहिक दुर्घटना बिमा गराएको हो ।

आज दुई वटा निर्जीवन बिमा कम्पनी र नाफिजबीच सामूहिक दुर्घटना बिमासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्यारेन्समा सदस्यको सामूहिक दुर्घटना बिमा गराएको हो ।

कुल बिमाङ्क रकम रु १६ करोड ४५ लाख रहेको छ । सम्झौतामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर वैदावर र नाफिजका अध्यक्ष मेनुका कार्कीले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौताअनुसार नाफिजका हरेक सदस्यको प्रतिव्यक्ति रु सात लाखका दरले दुर्घटना बीमा भएको छ । 

नाफिजका अध्यक्ष कार्कीले हरेक दिन ‘फिल्ड’मा खटिनुपर्ने पत्रकार विभिन्न खालका दुर्घटनाको जोखिममा हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यको बीमा गराइएको बताउनुभयो ।

सम्झौता कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले दुर्घटना बिमाले पत्रकारको सामाजिक सुरक्षाको सुनिश्चिततामा सहयोग पुग्ने र विश्वसनीय सूचना प्रवाहमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वैदावरले नाफिजले आफ्ना सदस्य पत्रकारहरूको बिमा गराएर पत्रकारहरूलाई फिल्डमा खटिन थप प्रोत्साहन गरेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button