सहज बन्दै दूधकुण्ड पोखरी जाने पदमार्ग
सोलुखुम्बु । नुम्बुर हिमालको काखमा रहेको प्रसिद्ध धार्मिक स्थल दूधकुण्ड पोखरी जाने पदमार्ग निर्माण भएपछि आवतजावतमा सहज हुन थालेको छ । सोलु दूधकुण्ड नगरपालिका–१ मा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीयस्थल दूधकुण्ड पोखरी क्षेत्रमा आवतजावत गर्ने पदमार्गको निर्माण कार्य सोलुदूधकुण्ड नगरपालिकाको समन्वयमा अघि बढ्दा यात्रा सहज बन्न थालेको छ ।
दूधकुण्ड पोखरीको व्यवस्थापनमा पछिल्लो समय नगरपालिकाले चासोका साथ पदमार्ग निर्माण गर्न थालेको छ । दूधकुण्ड पोखरी क्षेत्रमा सोलुदूधकुण्ड नगरपालिकाको समन्वयमा पर्यटकीय संरचनाहरू धमाधम निर्माण भइरहेको नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । पदमार्ग निर्माणले स्वदेशी तथा विदेश पर्यटक तथा तीर्थयात्रीहरूलाई हिमालको नजिक पुगेर धार्मिक, सांस्कृतिक महत्वको साथै प्राकृतिक सौन्दर्यता भएकाले यसको अनुभव गर्न र शान्त वातावरणमा रमाउन सहज हुने मेयर शेर्पाको भनाइ छ ।
समुद्री सतहबाट चार हजार ५६० मिटरको उचाइमा रहेको जिल्ला सदरमुकाम सल्लेरीबाट उत्तरतर्फ देखिने नुम्बुर हिमालको काखैमा रहेको दूधकुण्ड पोखरीमा बर्सेनि धार्मिक पर्यटकको चाप बढ्दै गएको छ । धार्मिक महत्व बोकेको तथा प्राकृतिक सुन्दरताले भरिएको दूधकुण्ड पोखरी जानको लागि आधा बाटोसम्म सडकको पहुँच पुगेको छ भने बाँकी पदमार्गका रुपमा रहेको छ ।
दूधकुण्ड पोखरीमा जनैपूर्णिमाका अवसरमा मेला लाग्ने गरेको र मेलामा हजारौँ दर्शनार्थी पुग्ने गरेका छन् । सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तरमा पर्ने यो कुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दूधकुण्ड भनिएको हो । मेलामा हिन्दु मात्रै नभइ बौद्धमार्गी, किरातीहरु समेत दूधकुण्ड पुग्ने गर्छन् ।
शौचालय लगायत बस्ने स्थानको समेत व्यवस्थापन गरेको सोलुदूधकुण्ड नगरपालिकाले पदमार्ग तथा अन्य पूर्वाधारको निर्माणमा तीव्रता दिएको छ । यसअघि नगरपालिकाले पर्यटनको प्रचारप्रसारका लागि दूधकुण्ड पोखरीको वृत्तचित्र समेत निर्माण गरी प्रचारप्रसारमा लागिसकेको छ ।
यस स्थानमा नुहाएमा पुण्य प्राप्त हुने जनविश्वासका कारण विभिन्न जिल्लाबाट धार्मिक पर्यटकहरू आउने गरेका छन् । पोखरीको अर्को छेउमा शिवलिङ्ग छ । बुबाआमा भएकाले पूरै पोखरी नघुम्नु भन्ने भनाइ छ । यस तालको अतिरिक्त आसपासमा गङ्गा जमुना, भुतपोखरी गरी १० वटा स–साना कुण्ड समेत रहेका छन् । पोखरीको सुरुको छेउमा सानो मन्दिर निर्माण गरिएको छ । यहाँ पूजाआजा गर्न तथा बत्ती बाल्ने प्रबन्ध मिलाइएको छ ।
पोखरीको नजिकै सानो बुद्धको मूर्तिसमेत छ । जसलाई बौद्ध धर्मावलम्बीहरूले अत्यन्तै श्रद्धाको रुपमा लिने गर्छन् । यो स्थानसम्म पुग्न पोखरीको वल्लो छेउदेखि लगभग दुई घण्टा हिँड्नुपर्छ । यहाँबाट ओरालो झरेपछि विशाल ढुङ्गाको फेदमा आयु माग्ने स्थान छ, जहाँ पूजा गर्दा आयु बढ्ने तथा गाईवस्तु राम्रो हुने जनविश्वास छ ।
अघिपछि पनि आवतजावत हुने त्यस पोखरीमा मुख्यगरी श्रावण शुक्ल एकादशीदेखि जनै पूर्णिमासम्म लाग्ने ठूलो मेलामा धाँमीझाँक्री र विभिन्न स्थानबाट दर्शनार्थीको आकर्षण बढ्ने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्