कोहलपुरमा स्व. वीरेन्द्र शाहीको स्मृतिमा जिल्लास्तरीय खुला टी-२० क्रिकेट प्रतियोगिता हुने
बाँके । कोहलपुर ४ किरणनालाका क्रिकेटप्रेमी स्व. वीरेन्द्र शाहीको स्मृतिमा करिब ३ लाख रुपैयाँ राशिको खुला टी-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। बाँकेको कोहलपुर २ मा रहेको युनाइटेड भिजन क्रिकेट क्लबले तेस्रो संस्करणमा प्रवेश गरेको यो प्रतियोगिता शाहीको स्मृतिमा आयोजना गर्न लागेको हो। पत्रकार भेटघाटमा क्लबका अध्यक्ष गम्भीरजंग मल्लले प्रतियोगिताले क्रिकेट प्रेमीहरूलाई एकत्रित गर्दै कोहलपुरको खेलकुद क्षेत्रलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रिय क्रिकेटका पूर्व कप्तान एलबी क्षेत्रीले प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण सम्पन्न नहुनु कोहलपुरवासीका लागि निराशाजनक भएको बताउनुभयो। “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारालाई परिमार्जन गर्दै “दक्ष खेलाडी उत्पादनका लागि खेल” बनाइनुपर्ने धारणा उहाँले राख्नुभएको हो। महिला क्रिकेटको जननी स्थल कोहलपुरको स्तरवृद्धि गर्न नसक्नु दुर्भाग्य भएको उल्लेख गर्दै क्षेत्रीले स्थानीयदेखि केन्द्र सरकारसम्मले मैदानको स्वामित्व ग्रहण गर्नुपर्नेमाथि जोड दिनुभयो
कोहलपुर नगरपालिका वडा नं. ११ की अध्यक्ष कल्पना अधिकारीले स्व. शाहीको स्मृतिमा आयोजना हुने प्रतियोगितालाई बजेट विनियोजनका लागि कार्यपालिकामा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो। “देश विदेशमा स्थान र राष्ट्रको गरिमा बढाउने खेलाडी उत्पादनमा राज्यले कुनै कन्जुस्याइँ गर्नु हुँदैन,” उहाँले भन्नुभयो। नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रीले खेलकुदका लागि राज्य, निजी क्षेत्र, र जनताको सहकार्य अपरिहार्य रहेको धारणा राख्दै आगामी बजेटमा क्लबलाई सहयोग गर्न आफू लागिपर्ने बताउनुभयो।
कार्यक्रममा समाजसेवी एवं एमाले नेतृ अनिता पौडेलले प्रतियोगिताका लागि आर्थिक, नैतिक, र भौतिक सहयोग उपलब्ध गराउने वचन दिनुभयो क्लबका अनुसार १५ लाख रुपैयाँको लागतमा आयोजना हुने प्रतियोगिता आगामी फाल्गुन १८ गतेदेखि २८ गतेसम्म प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
क्लबका अध्यक्ष मल्लका अनुसार प्रतियोगिताले प्रतिभावान् खेलाडीलाई नयाँ अवसर प्रदान गर्नेछ। स्मरणीय कुरा के हो भने, खेलप्रेमी वीरेन्द्र शाही तीन वर्षअघि क्रिकेट खेल्न जाने क्रममा सडक दुर्घटनामा परेर निधन भएका थिए। पहिलो र दोस्रो संस्करणका खेलहरू क्लबका सदस्यहरूले रकम जुटाएर सञ्चालन गरेका थिए ।
पत्रकार भेटघाटमा क्लबका सचिव नवीन बुढाथोकीले कार्यक्रमको सहजीकरण गरेका थिए भने संयोजक सुमन गुरुङले पत्रकारहरूको जिज्ञासा मेटाएका थिए। आयोजकहरूले प्रतियोगिताले कोहलपुरको खेलकुद क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्