तपाईँ सुन्दै हुनुहुन्छः

दुई अर्बको लगानीमा देवघाटमा वृद्धाश्रम निर्माण गरिँदै

चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा रु २ अर्बको लागतमा देवघाटमा वृद्धाश्रम निर्माण गरिरहेको छ ।

विश्व जागरण महाअभियान ट्रष्टले दिव्य धाम तथा माता–पिता आश्रम निर्माणका लागि देवघाट महामहोत्सव २०८१ गर्न लागेको हो । माघे संक्रान्ति देखि एक महिना सम्म महोत्सव सञ्चालन गरिने आज देवघाटमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

महोत्सवका संयोजक डा. केशवराज भुर्तेलका अनुसार यही माघ १ गते देखि ३० गते सम्म एक महिना लामो महोत्सव गर्न लागिएको हो । धार्मिक, सामाजिक र संस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान पुर्‍याउने दृष्टिले यो महोत्सवको आयोजना गर्न लागिएको जानकारी डा. भुर्तेलले बनाउनुभयो । निर्माणाधीन अवस्थामा रहेको माता–पिता आश्रममा ३६५ वटा कोटा निर्माण गरी बृद्धबृद्धाहरुलाई निःशुल्क रुपमा सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्यले महामहोत्सव गर्न लागिएको हो ।

२० रोपनी जग्गामा निर्माण गर्न लागिएको आश्रममा बृद्धबृद्धाहरुलाई निशूल्क आवास र भोजनको व्यवस्था गरिने ट्रष्टका संस्थापक ईश्वरकृष्ण महाराजले जानकारी दिनुभयो । अहिलेसम्म सो भवनमा १२० वटा कोठाहरू निर्माण गरिएको र अन्य संरचना निर्माणको क्रममा रहेको उहाँले बताउनुभयो ।

आश्रमसँगै पत्थरबाट निर्मित कलात्मक दिव्य धामको समेत निर्माण गरिने सो अवसरमा जानकारी दिइयो । महामहोत्सवमा अखण्ड हरिनाम सङ्कीर्तन, १०८ श्रीमद्भागवत पाठको सामूहिक पारायण, १ लाख २५ हजार श्रीफलको हवन, १ लाख शिला पूजन र शिलान्यास, ११ अर्ब रामनाम लेखन तथा पूजन, ३३ कोटी दीपहरूको प्रज्ज्वलन, कथा/प्रवचन कार्यक्रम जसमा सुश्री अनुराधा पाण्डे, पूज्या देवी प्रतिभा, यशोदा माताजी, युवा कथा बाचक ओमप्रकाश सुवेदी लगायतले कथा वाचन गर्नुहुने छ ।

यस महामहोत्सवमा दैनिक १० हजार भक्तजनहरूको निःशुल्क भोजन र आवासका लागि व्यवस्था गरिएको छ । यस महोत्सवबाट रु १० करोड सङ्कलन हुने अनुमान गरिएको र सङ्कलित रकमको ५ देखि ७ प्रतिशत मात्र खर्च हुने संयोजक डा. भुर्तेलको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button