संशोधन संविधानको मूल भावना विपरीत हुनहुँदैन : नेता निधि
जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजातान्त्रिक सेनानीहरूको ठूलो भूमिका भएकाले उहाँहरूलाई राज्यले उचित कदर गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रजातान्त्रिक सेनानी संघ मधेश प्रदेशको प्रथम अधिवेशनको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले २००७ सालको आन्दोलन देखि २०६२–६३ को आन्दोलनसम्म योगदान दिएका योद्धाहरूको नामावली सङ्कलनका लागि सङ्घलाई आग्रह गर्नुभयो ।
उहाँले संविधानको संशोधन गर्दा संशोधन गर्नु पर्ने विषय वस्तुको पहिला एकिन गरेर गर्न जरुरी रहेको बताउँदै यसमा प्रजातान्त्रिक सेनानीहरूलाई ध्यान दिँदै सुझाव दिनका लागि आग्रह गर्नुभयो ।
उहाँले संविधानको मूल भावनाको प्रतिकूल नहुने गरि संशोधन गर्न जरुरी रहेको बताउँदै संविधान जीवन्त दस्ताबेज भएकाले मुलुकका आवश्यकता अनुसार निरन्तर संशोधन र परिमार्जन हुनुपर्दछ भन्नुभयो ।
प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले मुलुकको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा प्रजातान्त्रिक सेनानीहरूको ठूलो भूमिका रहेकाले समानुपातिक मनोनयन प्रजातान्त्रिक सेनानीहरूलाई आरक्षण दिनु पर्ने माग गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्