तपाईँ सुन्दै हुनुहुन्छः

पीएसबीको लोगो निर्माण गर्न खुल्ला प्रतिस्पर्धा

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको लोगो खुल्ला प्रतिस्पर्धाबाट छनौट गरिने भएको छ ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकिकृत गरी सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गरेपछि पीएसबी नेपालले नयाँ लोगो खुला प्रतिस्पर्धाको आधारमा छान्ने भएको हो ।

पीएसबी नेपाल सञ्चालक समितिको यही पुष १४ गतेको निर्णयअनुसार संस्थाको  लोगो निर्माणका लागि इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ वा संस्थाले आवेदन दिन सक्ने सूचना प्रकाशित गरिएको छ ।

लोगो निर्माणका लागि आवेदन दिन फर्मरकम्पनी वा संस्थाको हकमा दर्ता प्रमाणपत्र र नियमानुसार कर चुक्ताको प्रतिलिपि तथा व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्र निवेदनका साथ अनिवार्य बुझाउनुपर्ने छ ।

गोरखापत्रमा यही पुष १७ गते प्रकाशित सूचना अनुसार इच्छुक व्यक्ति वा संस्थाले यही पौष २३ गतेभित्र निवेदन दिनुपर्ने छ। निवेदन सार्वजनिक सेवा प्रसारण नेपालको सचिवालय रेडियो नेपाल र नेपाल टेलिभिजनको इमेल ठेगाना rne@radionepal.gov.np मा पठाउन भनिएको छ ।

प्रतिस्पर्धामा सहभागिता जनाएका आवेदकहरूको सूची तयार गरी संस्थाको अवधारणा अनुसार लोगो निर्माण कार्य अगाडि बढाइने सार्वजनिक सेवा प्रसारण नेपालको सचिवालयले जनाएको छ ।

नागरिकका लागि सेवा प्रसारण भन्ने मान्यता अनुसार नै संस्थाको लोगो निर्माणका लागि खुला प्रतिस्पर्धाबाट छनौट गर्न लागिएको सचिवालयले जनाएको छ ।

सार्वजनिक सेवा प्रसारणप्रति आम नेपालीको भावनालाई जोड्दै नयाँ बनेको पीएसबीमा सबै नागरिकले अपनत्व लिन सक्ने गरी यो सूचना प्रकाशित गरिएको पीएसबी नेपालका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो ।

अध्यक्ष डा विष्टका अनुसार लोगो निर्माणका लागि प्राप्त आवेदकहरूको सूची तयार गरी आवेदकहरूबिच अवधारणागत छलफलपछि प्रतिस्पर्धाका आधारमा लोगो निर्माण हुने र जुरीले छनोट गरेको सर्वोत्कृष्ट लोगोलाई आकर्षक पुरस्कार प्रदान गरिने योजना रहेको छ ।

हाल नेपाल टेलिभिजन र रेडियो नेपालका समाचार, कार्यक्रम तथा अन्य प्राविधिक एवं प्रशासनिक संरचनाहरूको रुपान्तरणका बारेमा आन्तरिक गृहकार्यहरू भइरहेका छन् ।

पीएसबीमा दुवै निकायहरू रूपान्तरण भइसकेपछि प्रसारण हुने विषयवस्तुका साथै कर्मचारीहरूलाई अभिमुखीकरण एवम्  नियमावली, विनियमावली र अरू आवश्यक कानुनहरू निर्माणको काम पनि अघि बढिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button