तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सद्भाव कायम राख्न जरुरी : प्रदेश प्रमुख खापुङ

भोजपुर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले सामाजिक सद्भाव कायम राख्न जरुरी रहेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति भोजपुरको आठौँ जिल्ला सभामा शुक्रबार सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख खापुङले सङ्घीयता, गणतन्त्र, लोकतन्त्रको सुदृढीकरण सहित त्यसलाई संस्थागत तथा बलियो बनाउन सक्रिय हुन जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।

नेपालीका बीचमा सद्भाव र एकता कायम राख्दै मुलुकलाई अगाडी बढाउन स्थानीय तहहरूको पनि प्रमुख भूमिका हुने बताउनुहुँदै उहाँले भाषा, धर्म, संस्कार, संस्कृतिमा सबैको समान अवसर कायम राख्दै एकताबद्ध रुपमा सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो ।

कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सिर्जना राईले संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा योजनाहरू दोहोरिने समस्या देखिएको बताउनुभयो । आवश्यकताका आधारमा स्थानीय सरकारहरूले योजना बनाउने तथा सिफारिस गर्नुपर्ने राज्यमन्त्री राईको भनाई थियो ।

पूर्व संविधानसभा सदस्य लक्ष्मी परियार, जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राई, भोजपुरका स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखहरू, समन्वय समितिका पदाधिकारीहरू, कर्मचारी, पत्रकार लगायतको जिल्ला सभामा सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button