मदन भण्डारी गोल्डकप इन्डो–नेपाल भलिबल : एपीएफको पहिलो जित
रुपन्देही । विभागीय टिम एपिएफले गलकोट भलिबल क्लबलाई हराउँदै आफ्नो पहिलो जित दर्ता गराएको छ । बुधवारबाट बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा एपिएफले शुक्रवार करिब ३ घण्टाको समय खर्चेर ३–२ को कडा प्रतिस्पर्धामा कठिन जित निकालेको हो ।

बिहीबार चिसो र हुस्सुसँगै शीत परेपछि स्थगित एपिएफ र गलकोटबिचको खेल शुक्रवार पुनः खेलाइएको थियो । बिहीबार चौथो सेटमा पुगेर खेल स्थगित भएको थियो । शुक्रवार पहिलो सेट २५–१५ मा सहजै जितेको एपिएफले दोस्रो सेट २५–२२ पनि आफ्नो पक्षमा पार्यो ।
एपिएफको स्पाइकरको जोडी सुरेन्द्र केसी र सरोज वर्देवाले टोलीलाई कठिन समयमा जित दिलाएका थिए । तर गलकोटका मिन सुनार, जीवन सुनार, आलोक सुनार इरानियन खेलाडी मोविन सिरीको मेहनतले तेस्रो र चौथो सेट जित्यो। गलकोटले तेस्रो सेट २५–२२ तथा चौथो सेट ३३–३१ अङ्कमा जितेको थियो ।
निर्णायक अन्तिम तथा पाचौं सेटको लायन्स जज र रेफ्रीको निर्णयलाई लिएर पटक पटक विवाद हुँदा खेल करिब आधा घण्टा रोकिएको थियो । तनावपूर्ण त्यो सेट एपिएफले २०–१८ ले जित्यो ।
यसैगरी यसअघि शुक्रबार भएको पहिलो खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी भएको थियो । एकेडेमीले आफ्नो दोस्रो खेलमा शुक्रवार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । बुटवल उपमहानगरपालिका–१० स्थित रामनगर कोर्टमा जारी प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा एकेडेमीले रुकुममाथि सहज जित निकालेको हो। एकेडेमीले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२३ अङ्कले जितेको थियो ।
मदन भण्डारी स्पोटर्स एकेडेमी प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग ३–१ मा पराजित भएको थियो । रुकुम मणिमुकुन्द भलिबल क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । एकेडेमीले छनोट चरणको अन्तिम प्रतिस्पर्धा आइतबार मणिमुकुन्दसंग गर्नेछ । दुवै खेल गुमाएको रुकुम पश्चिमले सोमवार पुलिसको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रो टोलीले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ पाउने छन्। शनिवार ३ वटा खेल हुनेछन्। पहिलो खेल एपिएफ र भारतको गुजरात प्रदेश भलिबल एसोसिएसन, दोस्रो खेल मणिमुकुन्द र पुलिस तथा तेस्रो खेल त्रिभुवन आर्मी क्लब र गलकोटबिच हुनेछ । पुस २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता छ ।








प्रतिक्रिया राख्नुहोस्