वीरगंजसहित पर्सा, बारा, पर्साका प्रत्येक घरमा शुद्ध खानेपानी पुर्याउँछु : मन्त्री यादव

बीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंजसहित पर्सा, बारा जिल्लाका हरेक घरमा शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
वीरगंज महानगरपालिकास्थित जनता सडक अन्तर्गत रामराजापुलदेखि प्रसौनी बिर्ता, सवैठवाहुदै इनर्वा मनियारी, भवानीपुर र जगरनाथपुर सडक खण्डमा (५ कि.मी.) सम्मको नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको आज शिलान्यास गर्नुहुँदै मन्त्री यादवले खानेपानी आयोजना छिट्टै कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

उहाँले आगामी आर्थिक वर्षमा घाम र पानीका कारण क्षतिग्रस्त भएका पानीका ट्याङ्कीहरूको मर्मत तथा नयाँ संरचना निर्माणका लागि बजेट विनियोजन गरिने जानकारी दिनुहुँदै वीरगंजसहित बारा, पर्साका सबै नागरिकलाई शुद्ध पानी उपलब्ध गराउन प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले जलवायु परिवर्तन, चुरे दोहन र जङ्गल फडानीका कारण तराईका भूमिगत पानीका स्रोत सुक्दै गएको र यसले गम्भीर समस्या निम्त्याउन सक्ने भन्नुहुँदै पहिले २५० फिटमा पानी आउने चापाकल अहिले ३ सय फिटमा पनि सुक्न थालेको बताउनुभयो । मन्त्री यादवले यदि शुद्ध खानेपानीका लागि ठोस कदम नचालिए, तराई क्षेत्रमा पानीको हाहाकार हुनसक्ने बताउनुभयो ।

नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखा कार्यालयको आयोजनामा उक्त परियोजना तोकिएको समयमै निर्माण सम्पन्न भई त्यस क्षेत्रका नागरिकहरूको खानेपानीको समस्या पूर्ण रुपमा समाधान हुने कुरामा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जसपाका नेता, कार्यकर्ता, खानेपानी संस्थानका प्रदेश प्रमुखलगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्