कला संस्कृतिको संरक्षणमा विद्यालय
गुल्मी । आधुनिकताले छपक्कै छोपेको नेपाली समाजमा पुराना, कला, संस्कृति र परम्परा ओझेल पर्दै जान थालेका छन् । तर गुल्मी जिल्लाको रिर्डस पब्लिक हाइस्कूलले पछिल्लो समय मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना भएको भन्दै यसको संरक्षणमा चासो देखाएको छ ।
रिर्डस पब्लिक हाई स्कुलले फुट फेस्टिभल कार्यक्रम गरेको छ । स्थानीय खानेकुरालाई प्रवद्र्धन गर्नका लागि स्थानीय परिकार खुवाउने र विद्यार्थीहरूलाई यसबारे जानकारी दिने उद्देश्यले फुट फेस्टिभल कार्यक्रम गरेको स्कुलका सहायक प्रिन्सिपल टिका भलामीले जानकारी दिनुभयो ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेको स्कुलले विभिन्न समयमा फरक फरक प्रकृतिका कार्यक्रम गर्ने गरेको छ । सोही अवसरमा शुक्रबार स्कुलले फुट फेस्टिभल, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतिस्पर्धा र विद्यार्थीहरूले तयार गरेका विशेष शैक्षिक सामग्री प्रदर्शनी गरेका थिए ।
रिर्डस पब्लिक हाई स्कुलका विद्यार्थीले कला संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले पुराना गीतमा नृत्य गरेका थिए । विभिन्न जातजाति भाषा धर्मको भेसभुसामा साना विद्यार्थीले नृत्य प्रस्तुत गरेका हुन् ।
साना विद्यार्थीलाई पुराना संस्कृतिबारे जानकारी गराउँदै उक्त संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागिपरेको विद्यालयका प्रिन्सिपल श्रीप्रसाद भलामीले बताउनुभयो । फुट फेस्टिभलले विद्यार्थीहरूलाई पुराना खानेकुरा सम्बन्धी थाहा हुने भलामीले बताउनुभयो ।
रेसुङ्गा नगरपालिका नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले स्कुलको अन्य विद्यालयलाई पनि सकारात्मक सन्देश दिएको बताउनुभयो । पुराना कला संस्कृतिबारे नयाँ पुस्तालाई थाहा दिने र यसको संरक्षणमा लाग्न उत्प्रेरण दिएको बताउनुभयो ।
विद्यार्थीले देश भक्ति गीत, तीज गीत, सोरठी, कौडा, मारुनी, देउडा, थारु नाच, सालैजो, झाम्रे, यानिमाया, सकेलाm लाखे, तामाङ्ग गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्