भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता भोलिदेखि
चितवन । दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता भोलि (शुक्रबार)देखि सुरु हुँदैछ ।
भरतपुर महानगरपालिकाको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहान ९ः३० बजेदेखि प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खडकाले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ४७ विद्यालयबीच प्रतिस्पर्धा हुँदैछ । फागुन दोस्रो सातासम्म चल्ने प्रतियोगितामा कुल ६१ खेल हुनेछ ।
उद्घाटन खेलमा भरतपुर माध्यमिक विद्यालय र चितवन माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबीच छुट्टाछुट्टै छनोट खेल हुनेछ । त्यसबाट छनोट भएका टिमहरुबीच रातो बल अर्थात् दुई दिवसीय प्रतियोगिता हुनेछ ।
पहिलो चरणको लागि गरिएको ड्र बाट लिटिल फ्लावर स्कुल सिधै दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यस्तै पहिलो संस्करणको सेमिफाइनलमा पुगेका चार टिम पनि सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको सह–आयोजकमा चितवन जिल्ला क्रिकेट संघ, भरतपुर महानगर क्रिकेट संघ, चितवन राइनोज रहेका छन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण नारायणी खेल लाइभको युट्युब च्यानलबाट हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्