तपाईँ सुन्दै हुनुहुन्छः

कृषि पेसाको सम्मान हुन नसकेको आम कृषकको गुनासो 

नवलपरासी  । बर्दघाटका किसानहरुले आम कृषक र कृषि पेसाको सम्मान हुन नसकेको गुनासो गरेका छन् । यहाँ आयोजित एक कार्यक्रममा बोल्ने अधिकांश किसानले कृषि भित्र देखिएका चुनौती आफ्नै ठाउँमा भएपनि पेशा सम्मानित हुन नसकेको गुनासो गरेका हुन ।

बर्दघाट नगरपालिकाका निवर्तमान नगरप्रमुख धीरज शर्मा बस्यालले बर्दघाटमा बजारीकरणको समस्या रहेको बताउनुभयो । उहाँले कृषकद्वारा उत्पादित बस्तुहरूको सङ्कलन केन्द्र स्थापन गरि पालिकाहरूको समन्वयमा बजारीकरण गर्न सकिने धारणा राख्नुभयो । कृषक सम्मान र कृषकको आयमा वृद्धि गराऊन सके कृषि पेसामा आर्कषण ल्याउन सकिने उहाँको भनाई छ ।

बर्दघाट उद्योग वाणिज्य सङ्घको आयोजना र बर्दघाट प्रेस क्लबको समन्वयमा आठौँ बर्दघाट महोत्सवमा आयोजना गरिएको बर्दघाट नगर भित्रका कृषकका समस्या र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा नगरका किसानहरुले उक्त गुनासो गरेका हुन ।

किसानहरुले कृषि पेसाका समस्याहरू समाधानका लागि स्थानीय, प्रदेश र संघ सरकारले उपेक्षित गरेको बताएका छन् । आचार्य पशुपक्षी फर्मका सञ्चालक पदमपाणि आचार्यले दूधको विक्री पश्चात् पनि रकम भुक्तानी नपाएको कारणले पशुपालनबाट किसानहरु पलाएन हुने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय सरकारले किसानलाई केन्द्रमा राखी नीति ल्याउन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “ दूध उत्पादक किसानलाई दिँदै आएको अनुदान किन काटेको? एउटा पशु पाल्ने र २० वटा पशु पाल्ने किसानलाई एउटै व्यवहार गर्ने र नगरले दूधको भुक्तानीमा कुनै पनि पहल किन नगरेको?” 

त्यस्तै सृजना कृषि फार्मका सञ्चालक कृष्णप्रसाद चापागाईँ, सापकोटा कृषि एण्ड पशु फर्मका सञ्चालक झविन्द्र सापकोटा र नमूना एकिकृत कृषि फर्मका सञ्चालक नमुना घिमिरेले नगरले वितरण बर्शिम घाँसको बिउ खराब परेकाले घाँस उत्पादन नहुँदा गाई भैँसीलाई के खुवाउने हो भन्ने चिन्ताले सताएको पिडा पोख्नुभयो । 

“स्थानीय तहले  दिएको बिउ राम्रो हुन्छ भन्दै ल्याएर खेतमा लगायौ । अहिले मुला जस्तो घाँस उम्रियो । जुन बर्शिम पनि होइन। त्यसपछि बजारबाट बर्शिम किनेर ल्याएको पनि उक्त झारले उम्रिन दिएन। खेतभरि त्यही झार छ । हामीले पशुलाई के खुवाउने ? यस्को क्षतिपूर्ति हामीलाई कस्ले दिने? प्रश्न गर्दै उहाँहरूले भन्नुभयो, “सोझा किसान सधैँ मर्कामा छन्।”

हमाल पशु फर्मका सञ्चालक लक्ष्मण जंग हमाल, ढुङ्गाना फर्मका सञ्चालक खेम नारायण ढुङ्गाना र भट्टराई कृषि फर्मका सञ्चालक भवानी शङ्कर भट्टराईले कुनै पनि सरकारसँग कृषकको प्रष्ट तथ्याङ्क नभएको गुनासो गर्नुभयो ।

उहाँहरूले स्थानीय प्रदेश र संघ सरकारले हचुवाको भरमा कार्यक्रम ल्याउने, अनुदानका सामाग्रीहरू वितरण गर्ने र त्यसको प्रतिफल नर्हेदा कृषि क्षेत्रमा गरिएको लगानी बालुवामा पानी सरह भएको धारणा राख्नुभयो । 

न्यौपाने कृषि फर्मका सञ्चालक तेजलाल न्यौपाने र कृषक सञ्जालका नगर अध्यक्ष देवि प्रसाद बस्यालले नगरले कृषकका समस्या सुन्ने तर समाधानतर्फ कहिल्यै ध्यान नदिने गरेको बताउनुभयो । 

नगरमा छलफल गर्न बोलाउने, छलफल गर्ने, छलफलमा बिउ वितरण, मल, छाडा चौपायालगायतका विषयहरू धेरै पटक उठान भए तर अहिलेसम्म पनि समस्या ज्यूका त्यू छन् । कति गुनासो गर्ने? कसलाई र किन गर्ने? किसानका समस्या कस्ले सुन्ने? कार्यक्रममा रहञ्जेल सुन्ने अनि उडाउने । यस्तै गरेको बर्षौ भयो । 

दाऊन्ने मिश्रित तरकारी बालीका अध्यक्ष सावित्री तिवारी, कृषक चन बहादुर गाहाले सरकारले किसानलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरिरहेको बताउनुभयो । 

“नगरले पकेट क्षेत्र घोषणा गर्‍यो तर बिउ माग्दा छैन । मल छैन । सिँचाई छैन । मोटर छैन । केवल कृषकलाई भुलाउने कृषिका कुरा मात्रै छन् ।”, उहाँहरूले भन्नुभयो । 

राजेन्द्र सुनार, सुवास जिसी, बलराम भण्डारी, नारायणदत्त घिमिरे, गिरिराज गिरी लगायतले कृषि क्षेत्र पालिकाको प्राथमिकतामा नपेरेको बताउनुभयो । “सबैलाई पाल्ने कृषकले हो। कृषक नै उत्पादन गर्ने सवालमा सबै सरोकारवाला मौन छन् । कृषि क्षेत्रमा लाग्ने युवा खै?” उहाँहरूले प्रश्न गर्दै भन्नुभयो, “कृषि लाई सम्मानित पेशा बनाई कृषक उत्पादनमा लाग्नुपर्छ । होइन भने नेपालीले विदेश गएर कृषि गर्ने तर स्वदेशमा कृषि नगर्ने परिस्थितिले प्रशय पाउनेछ ।”

बर्दघाट नगरपालिका वडा नं.५ कि वडाअध्यक्ष विमला गुरुङ, वडा नं.७ का वडा अध्यक्ष ध्रुव थारु, वडा नं.८ का वडा अध्यक्ष कविराज आचार्य र नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले कृषि क्षेत्रका समस्या समाधानका लागि प्रयत्नशील रहेको बताउनुभयो ।

उहाँहरूले नगरमा बजारी करणको केही समस्या रहेको उल्लेख गर्दै बन्द भएको कृषि उपज केन्द्र कानुनी रुपमा मिलाई सञ्चालनको तयारीमा रहेको उल्लेख गर्नुभयो । 

उपप्रमुख रुद्रप्रकाश उपाध्यायले घाँसको बिउ वितरणमा गल्ती भएको स्वीकार गर्दै टेण्डरको आधारमा कम मूल्यलाई स्वीकृत गर्नुपर्ने, कम मूल्य राख्नेले नक्कली बिउ दिएकोले किसानहरु मर्कामा परेको बताउनुभयो । 

नेपाल काङ्ग्रेस बर्दघाट नगर सभापति दामोदर जि सी, नेकपा एमालेका नगर सचिव चोलाकान्त भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाश रायमाझी लगायतले नगरले कृषि नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले कृषकहरूको वर्गीकरण, तथ्याङ्क सङ्कलन र उत्पादनका आधारमा अनुदान र अनुदान दिएको सामाग्रीहरूको अनुगमनमा जोड दिनुभयो । नगरले पकेट क्षेत्र घोषणा मात्रै गर्ने तर बीउ बिजन, प्राविधिक सरसल्लाह र सहयोग नगर्ने गर्दा किसानहरु पिडामा परेको उहाँहरूको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button