संविधान संशोधन र परिमार्जन आवश्यक छ: अध्यक्ष यादव
नेपालगन्ज । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन र परिमार्जन आवश्यक रहेको बताउनुभएको छ ।

अवधि पत्रकार संघ नेपालले आज बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले संविधान विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन र परिमार्जन गर्नुपर्ने बताउनुभयो । उहाँले सबैले अपनत्व लिने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । यादवले सङ्घीयता, गणतन्त्र र समावेशितालाई बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष यादवले सङ्घीयता र गणतन्त्र संस्थागत गर्न कठिनाइ देखिएको समेत बताउनुभयो । उहाँले सङ्घीयता, गणतन्त्र र समावेशिता संस्थागत गर्ने दिशामा अगाडि बढ्न नसक्नु दुखद भएको बताउनुभयो । यादवले सङ्घीयता त्रुटिपूर्ण रहेकाले पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक परिवर्तनलाई आर्थिक-सामाजिक रुपान्तरणसंग जोड्न नसकेको भन्दै यादवले मुलुकमा बेथिति, अराजकता र भ्रष्टाचार बढेको टिप्पणी गर्नुभयो । पत्रकार भेटघाट अवधि पत्रकार संघ नेपालका अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्