भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि समितिमा सैद्धान्तिक छलफल सुरु
काठमाडौँ । प्रतिनिधि सभा अर्थ समितिको आज बसेको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।
सिंहदरबारमा आज बसेको बैठकमा प्रतिनिधि सभा सदस्यहरुले भन्सारको प्रक्रियामा नरहेका र प्रक्रिया बाहिरबाट कच्चा पदार्थ लगायत कृषिजन्य वस्तुहरू देशभित्र भित्रने गरेकाले त्यस्ता बस्तुहरूलाई निरुत्साहित गर्नेगरी विधेयक आउनुपर्ने धारणा राख्नुभयो ।
यसैगरी सदस्यहरुले कृषिमा भन्सार नीति अवलम्बन गर्दा विगतका अभ्यासका कारण नेपाली कृषकहरू मारमा परेका हुँदा नेपाली किसानको हितलाई ध्यानमा राखेर विधेयक परिमार्जन गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भन्सारलाई प्रविधिमैत्री, लगानीमैत्री र निकासीमैत्री बनाइनुपर्ने धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्