‘मुलुकको स्थायित्व र समृद्धिका लागि सरकार सशक्त रुपमा अघि बढिरहेको छ’
वीरगञ्ज । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा स्थायित्व र समृद्धिका लागि काँग्रेस र एमाले नेतृत्वको संयुक्त सरकार सशक्त रुपमा अघि बढिरहेको बताउनुभएको छ ।

उहाँले वर्तमान सरकार गठबन्धनको होइन भन्नुहुँदै स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि दुई दलबिचको समीकरणपछिको संयुक्त सरकार भएको बताउनुभयो ।
नेकपा एमाले पर्साद्वारा आज पर्साको सखुवा प्रसौनीमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको विकासको गति अगाडि बढिसकेको र यो कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले मित्रराष्ट्रहरूको सहयोग, सद्भाव लिएर आफ्नै शक्तिमा अगाडी बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपा एमालेलाई निर्णायक शक्ति बनाउन पार्टी प्रवेशको लहर चलेको बताउँदै सबैलाई एमालेमा एकिकृत गरी मिसन ०८४ कालागि एमालेको एकल बहुमतको सरकार बनाउने अभियानमा नेता कार्यकर्तालाई जुट्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले पर्साको पोखरीयामा ५० शय्याको प्रादेशिक अस्पताल निर्माण गर्ने, जनताको माग बमोजिम भूमि तथा मालपोत कार्यालय स्थापना गर्ने काम सरकारले गरिसकेको बताउँदै अब केही दिनभित्रै पोखरीयामा ईलाका प्रशासन कार्यालय समेत स्थापना गरिने घोषणा गर्नुभयो ।
कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शिक्षा, स्वास्थ्यसँगै कृषिको आधुनिकीकरण, उद्योगको विस्तार र रोजगारी सृजना गर्नेतर्फ सरकार केन्द्रित भएको दाबी गर्नुभयो ।

त्यस अवसरमा मन्त्री गुप्ताले पर्सा क्षेत्र नम्बर ३ को तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिक अभिनन्दन गर्दै १ सय ३ किलोको माला लगाइदिनुभएको थियो ।
कार्यक्रममा जसपाका नेता एवं सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी ५ हजार बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको थियो ।

नेकपा एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले मधेस प्रदेशका इन्चार्ज एवं पोलिटब्युरो सदस्य लिलानाथ श्रेष्ठ, सांसद प्रभु हजारा, मधेस प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जैसवाल लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण नेकपा एमाले पर्साका सचिव महेश दासले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्