तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा जारी कराँते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक

रुपन्देही । भारतको महाराष्ट्र प्रदेशस्थित पुणे शहरमा शनिबारदेखि अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु भएको छ ।

भारतको पुणेस्थित खेलकुद विभाग केन्द्रमा आयोजना गरिएको प्रतियोगितामा शनिबार सम्पन्न विभिन्न उमेर समूहको काँटा प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालको तर्फबाट उत्कृष्ट काटा प्रदर्शन गरेका १० वर्षमुनिका खेलाडी समूहका सिद्धार्थ रानाले स्वर्ण पदक हात पारेका हुन् । त्यस्तै शनिबार नै प्रतियोगिता अन्तर्गतका विभिन्न उमेर र तौल समूहका खेलाडीको छनौट प्रतियोगिता सम्पन्न भएका छन् ।

भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा नेपाल, बङ्गलादेश, श्रीलङ्का लगायत भारतका विभिन्न क्षेत्रबाट १ सय भन्दा बढी खेलाडी सहभागी रहेको आयोजक संस्थाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तरगत आइतबार र सोमबार विभिन्न उमेर र तौल समूहको अन्तिम फाइनल खेल हुनेछ । नेपालको तर्फबाट विभिन्न समूहका १८ जना महिला तथा पुरुष खेलाडी सहभागी रहेको जापान गोजुरियो कराते डो मिसन संघ, नेपालका अध्यक्ष केबी रानाले बताउनुभयो । नेपाली प्रतियोगी खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रहेको उहाँले बताउनुभयो ।

यसअघि शनिबार प्रतियोगिताको उद्घाटन गर्दै भारतीय सिने अभिनेता डा. सुमन तलवारले राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन खेल क्षेत्रमा लागेर योगदान गर्ने खेलाडीको सम्मान बढाउनुपर्ने बताउनुभयो । उहाँले खेलकुदको कराते जस्तो विधाले आत्म सुरक्षा, अनुशासन र स्वस्थ रहन मद्दत पुर्‍याउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button