पोखरामा डाटा सेन्टर बनाउनुपर्छ : मन्त्री गुरुङ
पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा डाटा सेन्टर बनाउनुपर्ने बताउनुभएको छ ।

रेवान पोखराको आयोजनामा सुरु भएको २६ औँ संस्करणको पोखरा सडक महोत्सव २०८१ को उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरामा वातावरणको हिसाबले पनि यहाँ डाटा सेन्टर बनाउनुपर्ने बताउनुभयो ।
पोखरामा डाटा सेन्टर बनाउन उपयुक्त हुने तर्कसहित उहाँले तराई क्षेत्रमा डाटा सेन्टर बनाउँदा गर्मी महिनामा एसी जडानको लागि करोडौँ रुपैयाँ विद्युतमा खर्च हुने उहाँले बताउनुभयो ।
पोखरालाई शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्र बनाउन पहल गर्ने पनि मन्त्री गुरुङले जनाउनुभयो । यस अभियानलाई सफल पार्न सबैको साथ र सहयोगको आवश्यक भएको बताउँदै यसमा आफु लागिरहेको उहाँले बताउनुभयो ।
उक्त अवसरमा टेनिस खेलको माध्यमबाट पोखराको खेल पर्यटनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कास्की जिल्ला टेनिस संघका पूर्व अध्यक्ष विनोद कायस्थलाई सम्मान गरिएको थियो ।
यही पुष १७ गतेसम्म पोखराको लेक साइडमा सञ्चालन हुने महोत्सव पोखरा लेक साइडको ४ किलोमिटर क्षेत्रमा विभिन्न प्रकारका खाना, कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने महोत्सव संयोजक विकास भट्टराईले बताउनुभयो ।
सडकमा मम खाने, रस्साकस्सी, वेटर वेट्रेसहरुको चम्चा दौड, डुङ्गा दौड लगायत कार्यक्रम हुने खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिनुभयो ।
महोत्सवको अवसरमा होटल आवासमा २० प्रतिशत छुट र रेस्टुरेन्टमा केही छुटको व्यवस्था गरिएको स्वास्थ्य समितिका संयोजक भीष्मराज पौडेलले बताउनुभयो ।
यसपालिको महोत्सवमा ५ लाख भन्दा बढी दर्शक भित्राउने लक्ष्य राखिएको महोत्सवका प्रचार प्रसार समिति संयोजक वीरेन्द्र शेरचनले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्