बाझिँदै गएको जग्गामा सुन्तला बगैँचा
गुल्मी । गुल्मी जिल्लामा समूह, सहकारीमार्फत चक्लाबन्दी मार्फत सुन्तला खेती सुरु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन इकाइ सुन्तला जोन मार्फत चक्लाबन्दी गरेर सामूहिक रूपमा सुन्तला बगैँचा स्थापना भएको हो ।
समूह सहकारी मार्फत चक्लाबन्दी मार्फत व्यावसायिक रुपमा सुन्तला, कागती लगायत खेती सुरु गरिएको हो । जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ६ सय ८० रोपनी बाँझो जग्गामा समूह सहकारी मार्फत चक्लाबन्दी मार्फत व्यावसायिक सुन्तला तथा कागती खेती सुरु गरिएको छ ।
चक्लाबन्दी गरी खेती गर्दा उत्पादनमा वृद्धि हुने, लागत, समयको पनि बचत हुने र स्थानीयस्तरमै रोजगारीको अवसर पनि सृजना हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन कार्यालयको सहयोगमा धुर्कोट १ मा सूर्योदय कृषि तथा पशु बहुउद्देश्यीय कृषि सहकारी, धुर्कोट २ पिपलधारामा खनाल सुन्तला फर्म, सुभसन्देश उपभोक्ता सहकारी संस्था र माधुरी कृषि तथा सुन्तला जात फलफूल फर्म मार्फत चक्ला बन्दीमा सुन्तला खेती सुरु गरिएको छ ।
मादाने ६ मा कंकेदेउराली बीउ उत्पादन कृषक समूह र सत्यवती ८ मा लाम्पाटा कृषि तथा पशुपन्छी समूह मार्फत कुल ६ सय ८० रोपनीमा चक्ला बन्दी मार्फत सुन्तला खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ प्रमुख गंगा पोखरेलले बताउनुभयो ।
चक्लाबन्दी खेती गर्ने कृषक तथा समूहलाई कार्यालयको तर्फबाट कूल लागतको ५० प्रतिशत रकम उपलब्ध गराइएको छ । सुन्तलाका बिरुवाहरूले करिब तीन वर्षबाट उत्पादन दिन सुरु गर्छ । पछिल्लो समय बसाइसराइका कारण जनशक्ति अभावले उब्जाउशील जमिन पनि बाझिनेक्रम बढिरहेको बेला जिल्लामै नमुनाको रूपमा चक्लाबन्दीमा सुन्तला र कागती खेती सुरु गरिएको छ । जिल्लामा १ हजार २ सय ७८ हेक्टर उत्पादनशील क्षेत्रफल रहेको छ । जसमा ९ हजार ३ सय २४ दशमलव ४ मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्