तपाईँ सुन्दै हुनुहुन्छः

भेरी–बबई बहुउद्देश्यीय आयोजनालाई गति दिनु पर्छ: मुख्यमन्त्री आचार्य

बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छिटो रिजल्ट आउने गरि  भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति दिन आग्रह गर्नु भएको छ । आयोजनाको कामलाई गति दिनका लागि आयोजना कार्यान्वयन सम्बद्ध पक्षसँग छलफल गर्नुभएको छ ।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा शुक्रबार छलफल गर्नुभएका मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आयोजनालाई छिटो सम्पन्न गर्नका लागि ध्यानाकर्षण गराउँदै काम अति सुस्ताएकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो –‘छिटो काम अघि बढ्छ कि भन्ने थियो तर, काममा बिलम्ब भयो । रिजल्ट आउने गरी काम सम्पन्न गर्नुहोस् ।’ 

लुम्बिनी प्रदेशको कृषि, ऊर्जा र खानेपानी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने आशा गरिएको उहाँले बताउनु भयो । आयोजनाको काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षित हुनेगरी गर्नुपर्ने बताउँदै उहाँले नदी कटान र विपद् जोखिम न्यूनीकरण गरेर काम गर्न अनुरोध गर्नु भयो । ‘स्थानीयहरू सँग भएका सम्झौता कार्यान्वयन भएको छैन । त्यसलाई ध्यान दिनुस् ।’ उहाँले भन्नु भयो –‘सम्झौता अनिवार्य कार्यान्वयन गरिनुपर्छ ,बस्तीलाई सुरक्षित गर्न जरुरी छ । अनिवार्य नदिको दुवै किनारमा तटबन्ध गर्ने गरी योजना अघि बढाउनुस् ।’ आयोजना कार्यालयसँग छलफल गर्नु अघि मुख्यमन्त्री आचार्यले बासगढी नगरपालिका–१ चेपाङ बर्दियाका स्थानीयसँग भेट गर्नु भएको थियो । 

अबको २ बर्ष भित्र भेरी नदिको पानी बबई नदिमा झारेर सिँचाई, विद्युत् उत्पादन सुरु हुनेगरी काम भइरहेको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिनुभयो । बहुउद्देश्यीय आयोजनाको ६५.८ प्रतिशत भौतिक प्रगति गरेको, जस अन्तरगत टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रोमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी निर्देशक बमले दिनु भयो । हाइड्रो मेकानिकलको भौतिक प्रगति ३९ प्रतिशत र प्रशारणलाइनको भौतिक प्रगति ५ प्रतिशत भएको छ ।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवका आयोजना हो ।  भेरीको पानी बबईमा खसालेर बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाई सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । आर्थिक बर्ष २०६८/६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियो ।

सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत काम सम्पन्न गर्न  ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ वैशाख ३ गते‘ब्रेक थ्रु’ गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button