तपाईँ सुन्दै हुनुहुन्छः

नगरमा भइरहेका विकासका कार्यलाई आफ्नो काम सम्झिएर सहयोग गर्न प्रमुख लामाको आग्रह 

काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले नमोबुद्ध नगरपालिकाको विकासका लागि आफूले खेल्ने भूमिकामा कुनै कमी हुन नदिने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको १२औँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नगरपालिकाको तर्फबाट नगरपालिका कार्यालयमा आज बधाई तथा सम्मान गर्नुहुँदै नगर प्रमुख लामाले नगरपालिकामा रहेका राजनीतिक दलहरू, नगरको विकासका लागि सद्भाव राख्ने सबैसँग आफू हातेमालो गर्दै अगाडि बढ्ने उल्लेख गर्नुहुँदै नमोबुद्ध नगरपालिकालाई राम्रो होस् भन्ने आफ्नो भावनालाई सञ्चारकर्मीहरूले पनि कदर गरिदिनुहुन्छ भन्ने विश्वास आफूले लिएको बताउनुभयो । 

उहाँले नगरमा भइरहेका विकासका कार्यलाई आफ्नो काम सम्झिएर सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।  

नगरप्रमुख लामाले नमोबुद्ध नगरपालिका सधैँ सञ्चारकर्मीको साथ रहनेछ भन्नुहुँदै नगरको समृद्धिका लागि आफूले गर्न कार्यमा सञ्चारकर्मीहरूको पनि सधैँ साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले आफूले काम गर्ने सिलसिलामा हुने कमीकमजोरीलाई  औँल्याइदिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । 

उहाँले राज्यको पहिलो, दोस्रो र तेस्रो अङ्गलाई स्वागत गर्न नपाए पनि राज्यको चौथो अङ्गलाई स्वागत गर्न पाउँदा सुखी लागेको बताउनुभयो ।  नगरप्रमुख लामाले पत्रकारिता पेसा राज्यका सबै अङ्गसँग जोडिएको उल्लेख गर्नुहुँदै कोही नपुगेको ठाउँमा पनि घाम, पानी बाढी, पहिरो केही नभनी जनतालाई आपत् विपद् परेका बेला सबैभन्दा पहिले पत्रकार पुग्ने गरेको बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका नवनिर्वाचित अध्यक्ष विनोदकुमार न्यौपानेले नमोबुद्ध नगरपालिकाले आज मात्र नभई विगतदेखि नै नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकलाई सहयोग गर्दै आइरहेको भन्नुहुँदै कोभिडको समयमा कोष सञ्चालन गर्दा मात्र नभई अन्य विभिन्न कार्यक्रममा पनि सहकार्य गर्दै आएको बताउनुभयो । 

उहाँले आगामी दिनमा पनि नमोबुद्ध नगरपालिकाले नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको संस्थागत बिकास, सञ्चारकर्मीहरूको क्षमता विकासलगायतका काममा नगरपालिकाले सहयोग र सहकार्य गर्नेछ भन्नुहुँदै आफू पनि नगरपालिकालाई समृद्ध बनाउने यहाँहरूको अभियानमा सधैँ साथमा साथ मिलाउँदै अघि बढ्ने बताउनुभयो । 

नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पत्रकारिता पेसा आफैमा मर्यादित पेसा भएको भन्नुहुँदै मुद्दामा केन्द्रित भई मुद्दालाई सुधार गर्ने गरी पत्रकारहरूको कलम चल्नुपर्ने बताउनुभयो ।  

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको १२औँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नगरपालिकाको तर्फबाट सम्मान गरिएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button