सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, संशोधनसहित अर्थ समितिबाट पारित
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० संशोधनसहित पारित गरेको छ ।
समितिको आज बसेको बैठकले विधेयकमाथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधिसभा सांसदहरूबाट परेका संशोधनका आधारमा विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो ।
राष्ट्रियसभाबाट पारित भएर आएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकमा प्रतिनिधि सभाका छ जना सांसदको संशोधन प्रस्ताव परेको थियो ।
समितिले विधेयकको प्रस्तावनामा रहेको सुरक्षित कारोबारका सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गरी चल तथा अमूर्त सम्पत्ति भन्ने शब्दहरूको सट्टा चल सम्पत्ति धितो राखी गरिने कारोबारलाई सुरक्षित बनाउने सम्बन्धमा एकीकृत व्यवस्था गरी त्यस्तो चल सम्पत्ति भन्ने व्यवस्था संशोधन गरेको छ ।
कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षित कारोबारसम्बन्धी कानूनी व्यवस्था समयानुकूल बनाउन अर्थ मन्त्रालयले विसं २०८० फागुन ४ गते विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो ।
सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकले चल, अचल तथा मूर्त र अमूर्त सम्पत्तिउपरको दायित्वबारे पनि व्यवस्था गरेको छ ।
यसैगरी विधेयकले घर, जग्गाबाहेक चल सम्पत्ति पनि धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने गरी व्यवस्था गर्न लागेको छ ।
अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खननका लागि अनुमतिप्राप्त खनिजपदार्थ, बौद्धिक सम्पत्ति तथा व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ ।
यसअघि बैङ्क तथा वित्तीय संस्थाले अचल सम्पत्ति मात्र धितो राखेर ऋण दिने गरेकामा यो ऐन लागू भएपछि चल सम्पत्ति पनि धितो राखी ऋण लिन सक्ने व्यवस्था विधेयकमा गरिएको छ ।
पशु, कृषिबाली तथा कृषिजन्य उत्पादन, उक्त उत्पादनबाट तयार पारिएको खाद्यवस्तु र उत्खननका लागि अनुमति लिइएको खनिज पदार्थसमेत धितो राखेर ऋण लिन सकिने छ ।
उपभोग्य वस्तुबाहेक अन्य कुनै धितो सम्पत्तिको विवरण दिएमा त्यस्तो विवरणलाई पर्याप्त मानिने विधेयकमा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्