तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया कारागारमा योग ध्यान शिविर

बर्दिया । बर्दिया कारागारमा मानसिक स्वास्थ्य सेवा प्रवद्र्धनका लागि यो ध्यान कार्यक्रम सम्पन्न गरिएको छ । बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र र बर्दिया कारागारको सहकार्यमा महिला कारागारमा योग ध्यान शिविर सञ्चालन गरिएको हो । 

कारागार भित्रका कैदी बन्दीलाई गत पुष ४ गते देखि ११ गते सम्म योग ध्यान कार्यक्रम सञ्चालन गरिएको थियो । शिविरमा कारागारका ५९ जना महिलाहरू मध्ये ५७ जना  कैदीबन्दी सहभागी भएका थिए । मानसिक तथा स्वास्थ्य राम्रो होस भनेर शिविर सञ्चालन गरिएको बर्दिया कारागारका प्रमुख  नगरबहादुर मिजारले बताउनु भयो । महिला कारागार तर्फका कैदी बन्दीहरूलाई एक हप्ताको लागि योग तथा ध्यान सिकाइएको हो । 

विभिन्न कानुनी झमेलाबाट तनावपूर्ण विकृत मानसिकताबाट ग्रसितहरूको लागि धेरै नै सहयोग भएको कैदीहरूले बताएका छन् । उनीहरूले सिकेको योग र ध्यानलाई दैनिक रुपमा प्रयोग गर्ने बताएका छन् । 

पुरुष कैदीबन्दीहरूलाइ पनि योग र ध्यान सिकाउने योजना रहे पनि क्षमता भन्दा बढी कैदीबन्दी भएको हुनाले सिकाउन नसकिएको प्रमुख मिजारले बताउनु भयो । उहाँले सबै पुरुष कैदीबन्दीलाई सिकाउनका लागि ठाउँ नै नपुग्ने भएपछि नसिकाइएको बताउनु भयो । कैदीबन्दीहरुका नाइकेहरूलाई योगा र ध्यान सिकाइ उनीहरू मार्फत कैदीबन्दीलाई सिकाउने योजना रहेको बताउनु भयो । उहाँले भन्नु भयो –‘सबैलाई एकै पटक सिकाउन सम्भव नै छैन, नाइकेहरूलाई सिकाउने र उनीहरूमार्फत विस्तारैमै बसेर गर्न सकिने योग र ध्यानहरू सिकाउने योजना बनाउँदै छौँ ।’

पुरुष ब्लकमा एक सय २५ र महिला ब्लकमा २५ गरी एक सय ५० जनाको क्षमता रहेको बर्दिया कारागारमा चार सय ४६ जना कैदीबन्दी रहेका छन् । महिला ब्लकमा ५९ महिला तिन नाबालक गरी ६२ जना बसिरहेका छन् । भने पुरुष ब्लकमा तिन सय ८७ जना कैदीबन्दी बसिरहेका छन् । क्षमता भन्दा बढी कैदीबन्दी हुँदा उनीहरूको जीवन कष्टकर रहेको छ ।               

प्रतिक्रिया राख्नुहोस्

Back to top button