सिञ्जामा नापी र मालपोत स्थापना
जुम्ला । जुम्लाको सिंजा क्षेत्रमा सङ्घीयता कार्यान्वयनपछि नापी र मालपोत कार्यालय स्थापना भएको छ । सङ्घीयता कार्यान्वयनको करिब ७ वर्षपछि सिंजा क्षेत्रका तीन पालिका लाभान्वित हुनेगरी सिञ्जामा मालपोत कार्यालय स्थापना हुने टुङ्गो लागेको हो ।
सिञ्जामा नापी र मालपोत कार्यालय स्थापना हुने सरकारको निर्णयले ऐतिहासिक सिंजा क्षेत्रले आर्थिक र प्रशासनिक रुपमा ठूलो सफलता हात पारेको छ।
मङ्गलवार बसेको मन्त्री परिषद्को निर्णयले सिञ्जामा मालपोत र नापी कार्यालय स्थापना गर्ने औपचारिक बाटो खोलेको छ । पहिलाको सरकार मातहतका निकायले बाधा अड्चन गरेको कामलाई वर्तमान सरकारले सहजै निर्णय गरी दुर्गम सिञ्जामा नापी मालपोत सेवा विस्तार गरेको छ ।
सङ्घीयता कार्यान्वयनपछि गाउँ गाउँमा सिंहदरबार आएपनि नापी र मालपोतको झन्झटिलो सेवाले नागरिक असन्तुष्ट थिए । जग्गा खरिद, नामसारी, राजीनामा लगायतका काम गर्न महँगो खर्च गरेर सदरमुकाम धाउनु पर्ने सिञ्जावासीको बाध्यता थियो । हप्ता दिनसम्म होटलबास बस्नु पर्ने, आउजाउ, होटलबास, कागजात व्यवस्थापनमा न्यूनतम १०/१५ हजार रुपैयाँ खर्च हुने गरेको छ ।
तर सिञ्जामा नापी र मालपोत स्थापना गर्ने सरकारको निर्णय सँगै सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिक उत्साहित भएका छन् ।
सिञ्जामा नापी मालपोत स्थापनापछि गाउँमै सेवा मात्र पाईने छैन । सिञ्जाका मोती दमाई भन्नुहुन्छ ‘मुकाम जाँदा लाग्ने खर्च,समय सबै जोगिने भयो । जग्गा नामसारी, राजीनामा गर्दा बुढापाकालाई हप्तौँ दिनसम्म हुने दुख पनि अन्त्य हुने भयो । यो हाम्रो ऐतिहासिक सफलता हो । सिंजा क्षेत्रका लागि नापी मालपोत सङ्घीयताको अनुपम उपहार हो ।’
सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले सङ्घीयताको उपहार स्वरूप सिंजा क्षेत्रका तीन पालिकाले नापी र मालपोत पाएको बताउनुभयो, उहाँले भन्नुभयो, ‘स्थानीय सरकारको निरन्तर प्रयास र लामो पर्खाइपछि मात्रै यो नापी र मालपोत स्थापनाको निर्णय सम्भव भएको हो । निर्वाचित भए देखिको बाचा पूरा भएको छ । मन्त्रीपरिषद्को ऐतिहासिक निर्णयले नापी मालपोत स्थापना मात्र नभई सङ्घीयता कार्यान्वयनको सशक्त उदाहरण समेत दिएको छ । व्यवस्था बलियो बनाउन संरचनाको स्थायित्वमा जोड दिनुपर्छ ।’
अघिल्लो सरकार सकारात्मक रहे पनि मुख्य सचिवले कानुनी अड्चनका देखाएका कारण यो कामले पूर्णता पाउन सकेको थिएन। तर,प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिंजाली जनताको आवाज सुनेको छ। भने सङ्घीयताको मर्म बुझेको अध्यक्ष धितालको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्