‘पत्रकारिता पेसालाई मर्यादित बनाउन सञ्चारकर्मीले सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्छ’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकास र समृद्धिमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ मोरङको कार्यालयमा आज आयोजित नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको निर्वाचित कार्यसमितिको प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले चौथो अङ्गको रुपमा स्थापित पत्रकारिता पेसालाई मर्यादित बनाउन सञ्चारकर्मीले सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकारहरूको सेवा सुविधा वृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री कार्कीले अब बस्ने कोशी प्रदेशको हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान ऐन ल्याउन लागेको बताउनुभयो । उहाँले यही माघ महिनामा बस्ने हिउँदे अधिवेशनमा सो ऐन ल्याउने र ऐन कार्यान्वयनमा आएपछि समग्र पत्रकारिता क्षेत्रको विकासमा ठुलो बल पुग्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई स्थापित गर्न आगामी हिउँदे अधिवेशनमा आधा दर्जनभन्दा बढी विधेयक टेबुल गर्न लागेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनसँगै समग्र प्रदेशको विकासमा उल्लेखनीय काम गरेको बताउँदै प्रदेश सरकारले गरेका राम्रा कामलाई जनता सामु पुर्याउन र काम गर्ने सिलसिलामा सरकारबाट केही कमीकमजोरी भए त्यसलाई औँल्याउन पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
उहाँले कोशी प्रदेश सरकारले प्रदेशमा लगानी भित्राउन लगानी सम्मेलन, चिया सम्मेलन तथा कोशी प्रदेश पर्यटन वर्ष–२०८२ आयोजना गर्न लागेको समेत जानकारी गराउनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित केन्द्रिय सदस्य शंखर खरेल, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लिलावल्लभ घिमिरे, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका पूर्व अध्यक्ष विक्रम लुइँटेल, पत्रकार महासङ्घ मोरङका पूर्व अध्यक्ष दिपक दाहाल तथा यज्ञ शर्मालगायतले नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीसहित प्रदेश पार्षद् तथा सदस्यहरूलाई कार्यकालको शुभकामना दिनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घ मोरङका नवनिर्वाचित अध्यक्ष सुशीलासहित जिल्लाका पदाधिकारी तथा सदस्य एवं प्रदेश परिषद् सदस्यहरूलाई मुख्यमन्त्री कार्कीले प्रमाणपत्र प्रदान गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्