१५ देशका रङ्गीचङ्गी बेलुन पोखराका आकाशमा
पोखरा । पर्यटनको राजधानी पोखरामा आज (मङ्गलवार) देखि बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव २०८१ सुरु भएको छ । पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा पोखराको फेवाफाँट तथा लौरुक क्षेत्रमा उक्त महोत्सव सुरु भएको हो ।
यही पुस १७ गते (जनवरी १ तारिख) सम्म आयोजना हुने उक्त महोत्सवको एक समारोहका बिच गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्दै प्रदेशको राजधानी पोखरामा साहसिक खेलकुदको केन्द्र नै भएको बताउनु भयो । पोखराको पर्यटन प्रवर्द्धनमा साहसिक खेलकुद गतिविधिले महत्वपूर्ण भूमिका खेल्दै आएको सन्दर्भमा पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको साहसिक खेलकुदको केन्द्र बनाउन एउटा इट्टा थप्ने बताउनु भयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेले पोखरामा उक्त महोत्सवले आन्तरिक पर्यटकलाई आकर्षण गर्ने बताउनु भयो । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा यस्ता महोत्सवले पोखराको पर्यटन क्षेत्रमा नयाँ ब्राण्ड थपिने हुँदा यसलाई निरन्तरता दिन सुझाव दिनु भयो ।
उक्त महोत्सवका ब्राण्ड एम्बेसडर महानायक राजेश हमालले पोखराको पर्यटन प्रबद्र्धनमा हर्ट एयर बेलुन महोत्सव नयाँ गन्तव्य हुने बताउनु भयो । पोखराको फेवातालमा हुने डुङ्गा सयर देखि सुरु भएको साहसिक खेल गतिविधि हाल धेरै बढेको उहाँले दाबी गर्नु भयो ।
पोखराको भकुण्डेदेखि विभिन्न जनजातिको भेषभुषा सहितको झाँकी समेत प्रदर्शन भएको परिषद्का महासचिव जीवनराम सापकोटाले बताउनु भयो ।
९ दिन सञ्चालन हुने महोत्सवमा १५ देशका बेलुन पाइलट सहभागी भएको बेलुन नेपाल प्रा.लि.का अध्यक्ष बिक्रम वाडेले बताउनु भयो । पोखराको आकाशमा एकै पटकमा १७ वटा हर्ट एयर बेलुन आजबाट उड्न सुरु भएको अध्यक्ष वाडेले जनाउनु भयो ।
पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने महोत्सवमा नेपाल सहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुन सहित बेलुन पाइलटहरूको सहभागी हुने भएको आयोजकले जनाएको छ ।
नेपालमा पहिलो पटक आयोजना भएको उक्त महोत्सवको स्थानीय संयोजकको रुपमा फेवा क्लब रहेको छ भने महोत्सव पोखरा २३ र २४ मा पर्ने फेवाफाँटमा हुँदै छ भने बिहानको बेलुन उडान लौरुकबाट हुदैछ । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर हुन लागेको महोत्सवमा नेपालका चर्चित राष्ट्रिय देखि स्थानीय कलाकारको प्रस्तुती हुने भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनु भयो ।
महोत्सव अवधिमा बिहान ६ः०० बजे देखि ९ः०० बजेसम्म र बेलुका ४ः०० बजे देखि ०६ः०० बजे सम्म विभिन्न देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटहरूले हट एयर बेलुनको उडान गर्नुहुने छ भने बेलुका ७ः०० बजे देखि ०८ः०० बजे सम्म बेलुन नाइट ग्लोः गरिने भएको प्रतियोगिताका संयोजक सविन महर्जनले बताउनु भयो । उक्त महोत्सवमा डिहिकोपाटनवाट निःशुल्क सटल बसको व्यवस्था गरिएको उहाँले जनाउनु भयो ।
महोत्सवमा हरेक दिन साङ्गीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेल समेत हुँदै छ। महोत्सवमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कविता नेपाली, काटुन् क्रुज, बेली नृत्य लगायत थप स्थानीय कलाकार र व्यान्डले साङ्गीतिक प्रस्तुति दिने भएको परिषद्का अध्यक्ष पहारीले जनाउनु भयो ।
महोत्सवको विशेष आकर्षणको रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडान: पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँहरूको सुन्दर दृश्य, नाइट बेलुन ग्लोः बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाण्डौंको कुमारी नृत्य र व्रज योगिनी लगायतका कार्यक्रम प्रस्तुत: हुने भएको आयोजकले जनाएको छ । महोत्सवमा डिसेम्बर २४ देखि २६ तारिकसम्म विभिन्न व्याण्ड सहितको प्रस्तुती रहने भएको छ भने महोत्सवमा २७ देखि ३१ तारिखसम्म बेलुन उडान तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएको छ। जनवरी १ तारिखमा साङ्गीतिक कार्यक्रम प्रस्तुती सहित कार्यक्रम समापन हुनेछ । साथै महोत्सवमा विभिन्न खानाका परिकार सहितका अन्य केही स्टलहरू समेत रहने भएका छन् ।
बिवाईडी को मुख्य: प्रायोजनमा हुने महोत्सवलाई सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार प्रवर्द्धकमा रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्