प्रतिनिधि सभाका सांसद्हरूसँग अपाङ्गता भएका व्यक्तिहरूको छलफल कार्यक्रम सम्पन्न
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूका लागि सामुदायिक सहायता सेवा सम्बन्धी प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिका सांसदहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
डिसाविलिटी राइट्स फन्टको सहयोगमा मेरुदण्ड पक्षघात समूह नेपाल, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल र अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौँले आयोजना गरेको कार्यक्रममा अपाङ्गता भएकाहरूको शिक्षा तथा अन्य सामाजिक सेवाको क्षेत्रमा विशेष ध्यान दिनु पर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा प्रतिनिधि सभाका महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार शाहले मानव संसार सभ्यताको मुहान भएकाले राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि सकारात्मक पहल गर्नु पर्नेमा जोड दिनुभयो । सभापति शाहले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि संविधानमा स्पष्ट व्यवस्था रहेकाले सोही अनुसार कानून र ऐनहरु बनाउनुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय सन्धि र सम्झौतामा नेपालले हस्ताक्षर मात्रै गर्ने तर कार्यान्वयन नगर्ने भन्दै सभापति शाहले असन्तुष्टि व्यक्त गर्नुभयो ।
सांसद सुशिला श्रीपालिले थन्किएका कार्यविधिमाथि पहिले छलफल गर्नुपर्ने भन्नुहुँदै अपाङ्गता भएका व्यक्तिहरूका लागि अलग्गै कार्यविधि आवश्यक भएको बताउनुभयो ।
सांसद विन्धवासिनी कंसकारले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि राष्ट्रिय अपाङ्ग महासङ्घका भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । सांसद कल्पना मियाँले कानून कार्यान्वयन गर्नका लागि चुनौती देखिएकाले सम्बन्धित मन्त्रालयका सचिवहरूसँग आवश्यक छलफल गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय सभाका पूर्वसदस्य प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि सबैको एकै भावना हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अभियन्ता सिर्जना केसीले अपाङ्गता भएका व्यक्तिहरूका लागि व्यक्तिगत सहयोगी निर्देशिका अनिवार्य भएको बताउनुभयो । अभियन्ता लाक्पा नोरु शेर्पाले अपाङ्गता भएका व्यक्तिहरू आफ्नो अधिकारका लागि सडकमै आउनु दुःखद भएको बताउनुभयो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको लागि स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष टेक बहादुर गुरुङले स्वागत मन्तव्य राख्नुहुँदै संविधानमा भएका अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न माग गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार अल्पसङ्ख्यक, पिछडिएका वर्गसँगै राख्दा अपाङ्गता क्षेत्र पछाडि परेको बताउनुभयो ।
कार्यक्रममा सांसदहरुले अपाङ्गता भएका व्यक्तिहरूका राजनीतिक अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने उद्घोष गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्