तपाईँ सुन्दै हुनुहुन्छः

निजी विद्युत् उत्पादकलाई प्रोत्साहन गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । निजी जलविद्युत कम्पनीहरूलाई प्रोत्साहन गरेर विद्युत् उत्पादन बढाउनुपर्नेमा प्रतिनिधिसभाका सांसदहरुले जोड दिनुभएको छ । 

संसद्को पूर्वाधार विकास समितिले विद्युत् विधेयकमाथि छलफल गर्न आज बोलाएको बैठकमा समितिका सदस्य गगनकुमार थापाले नेपालको विद्युत् उत्पादनमा निजी क्षेत्रलाई ढोका खुल्ला गरेपछि  प्रगति भएकाले अझै प्रोत्साहन गर्ने गरी कानूनी व्यवस्था गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । 

सांसद थापाले विधेयकमा पाँच मेगावाट क्षमतासम्मको विद्युत् उत्पादन गर्न स्थानीय तहलाई दिने व्यवस्थाका ठाउँमा  तीन मेगावाटसम्म दिन सकिने गरी विधेयकमा संशोधन प्रस्तुत गर्नुभयो । 

त्यसैगरी सांसद जनार्दन शर्माले विद्युत् उत्पादन अनुमति पत्र लिएर विक्री वितरण गर्ने प्रवृत्ति रोक्न विधेयकले व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

त्यस्तै सांसदहरु विना लामा, शान्ति चौधरी, उर्मिला माझी, कल्पना चौधरीलगायतले विद्युत् उत्पादन, वितरण र निर्यातमा सहज बनाउने  गरी विधेयक संशोधन गर्न  सुझाव दिनुभयो । 

उहाँहरूले जलविद्युत आयोजना निर्माण गरिँदा खोला किनारामा बसोबास गर्ने समुदायको बस्ती व्यवस्थापन उचित रूपले गरिनुपर्ने, आयोजनाका लागि भनेर खरिद गरेको वा प्राप्त भएका जग्गा निर्माण सम्पन्न भएर पनि बाँकी रहेमा अन्य वैकल्पिक ऊर्जा उत्पादन तथा कृषि कार्यका लागि प्रयोग गर्न सकिने प्रावधान संशोधन पेस गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button