तपाईँ सुन्दै हुनुहुन्छः

झापा कप फुटबलको उपाधि चर्च व्वाइजलाई

भद्रपुर, झापा । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ ।

उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–० गोलअन्तरले हरायो ।

चर्च ब्वाइजले जीतसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो ।

खेलको २१ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । चर्च ब्वाइजका समिर तामाङले गोल गरे । ४३ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । विदेशी खेलाडी अर्मान्डले गोल गरे ।

त्यसलगत्तै एनआरटीले १ गोल फर्कायो । कप्तानसमेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा १–२ बनाएका थिए ।

खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्मान्डले गोल गर्दै चर्च ब्वाइजको जीत सुनिश्चित पारे ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम चर्च ब्वाइजका समिर तामाङ भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रुपमा छनोट भएका झापा–११ का प्रदीप बुढाथोकीले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाए ।

मस्ट भ्यालुएबल प्लेयर चर्च ब्वाइजका रोहण कार्की भए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, गोर्खा टी इस्टेटका सञ्चालक उदय चापागाईं, आयोजक झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button