तपाईँ सुन्दै हुनुहुन्छः

‘कृषि क्षेत्रको विकास गर्न सामूहिक प्रयास आवश्यक’

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिनुभएको छ । 

सात वटै प्रदेशका कृषि मन्त्रीको उपस्थितिमा आज मन्त्रालयमा आयोजित विषयगत समितिको १०औँ बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले राज्यको क्षमताअनुसार योजना बनाउनुपर्ने भन्दै बनेका योजनाको प्रभावकारी कार्यान्वयन गर्न सबैको सहयोग र समन्वय आवश्यक पर्ने बताउनुभयो ।

“बाँझो जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरी स्थानीय तहमार्फत कानुन तथा कार्यविधि बनाई लागू गर्न आवश्यक छ, यसका लागि प्रदेश र सङ्घीय सरकारले सशर्त र विशेष अनुदान उपलब्ध गराउनुपर्छ”, उहाँले भन्नुभयो ।

मध्यपहाडी क्षेत्रमा फलफूलको सम्भावना रहेको भन्दै तीनै तहका सरकार सम्भाव्यता अध्ययन गरी प्रभावकारी योजनामार्फत कार्यान्वयन गर्दै जानुपर्ने मन्त्री अधिकारीले बताउनुभयो । विदेशबाट फर्किएकालाई कृषि क्षेत्रमा लगाउने आधार  बनाउने गरी काम गर्न उहाँले सरोकार भएका सबैलाई आग्रह गर्नुभयो ।

बैठकमा सातै प्रदेशका कृषि क्षेत्रसँग सम्बन्धित सचिवले प्रदेशमा कृषि क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुति गर्नुभएको थियो । 

बैठकमा प्रदेश मन्त्रीले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । बैठकमा यसअघि बसेको नवौँ बैठकले गरेका निर्णय कार्यान्वयनको समीक्षा पनि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button