तपाईँ सुन्दै हुनुहुन्छः

महाकालीको धार परिवर्तन गर्दै नेपाल आएको भारतीय एस्क्याभेटर र चालकलाई भारत फकाइयो 

दार्चुला । नेपाल–भारत सीमा नदी महाकालीको नेपालतर्फको धार परिवर्तन गरेपछि स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको एस्क्याभेटरका चालकलाई भारततर्फ नै फिर्ता पठाइएको छ । 

दार्चुला सदरमुकाम नजिक महाकाली नगरपालिका–५ स्थित वीरेन्द्र वन नजिक धार परिवर्तन गर्दै गरेको भारतीय एस्क्याभेटरका चालकलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

आइतबार बिहान साढे ११ः०० बजे अनुमतिविना भारतीय ठेकेदार कम्पनीको एस्क्याभेटर महाकाली नदी तरेर नेपालतर्फ आएको थियो ।

स्थानीयले मेसिनसहित चालकलाई नियन्त्रणमा लिएपछि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी नदी किनारमा पुग्नुभएको थियो । स्थानीय र सुरक्षा अधिकारीबीच यस विषयमा छलफल भएपछि एस्क्याभेटरसहित चालकलाई भारततर्फ नै फकाइएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी जोशीले घटना सम्बन्धमा सोधपुछ गरि भारतीय पक्षले गल्ती भएको र अबदेखि गल्ती नदोहोर्‍याउने सर्तमा एस्क्याभेटर र चालनकालाई भारततर्फ फिर्ता जान दिएको बताउनुभयो । ‘भारतीय अधिकारीहरूसँगको कुराकानीमा अबदेखि गल्ती नदोहर्‍याउने सर्तमा उनीहरुलाई छोडेका हौँ ।” उहाँले भन्नुभयो ।  

महाकाली नगरपालिका दार्चुला मेयर नरसिंह चैसिरले भारतले महाकाली पारी तटबन्ध गरिरहेको हुँदा पानीको धार परिवर्तन गर्न नेपालतर्फ एस्क्याभेटर ल्याएको हुनसक्ने बताउनुभयो । 

“नेपाल–भारतका अधिकारीहरू बीचको छलफलले निर्माण नरोक्ने, तर असर नगर्ने गरी काम गर्ने समझदारी भएको हो”, मेयर चैसिरले भन्नुभयो, “पारीपट्टि नदी नियन्त्रणको काम भइरहेको छ । त्यहाँनिर पानी भारततर्फ बग्छ । धार परिवर्तन गर्न एस्क्याभेटर आएको हुनसक्ने आशङ्का नेपाली पक्षले गरेको छ । ”

यसअघिको छलफलमा दुई देशले एक–अर्कालाई असर नगर्ने गरी निर्माण गर्ने समझदारी भएको भन्दै समझदारी विपरीत नेपालतर्फ एस्क्याभेटर ल्याएको प्रशासनले बताएको छ ।

विना समन्वय नेपालतर्फ भारतीय एस्क्याभेटर ल्याउने कुरा गलत रहेको भन्दै स्थानीय आक्रोशित भएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button