तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताउनुभएको छ ।

रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिङ्गो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले अवधारणा अघि सारेको बताउनुभयो ।

प्रदेश सरकारले बृहत् लुम्बिनी पर्यटन सर्किटको अवधारणालाई समेत प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री आचार्यले तीन जिल्लालाई बौद्ध सर्किट र सिङ्गो प्रदेशलाई लुम्बिनी सर्किटको आधारमा विकास गरिने बताउनुभयो । “प्रदेश सरकारले बौद्ध सर्किटको गुरुयोजना बनाउँछ । तिलौराकोटदेखि नवलपरासीको रामग्राम सम्मका सम्पदाहरूलाई जोड्ने गरी पर्यटन पूर्वाधार निर्माण गरिन्छ”, उहाँले भन्नुभयो, “लुम्बिनी आउने पर्यटकलाई एक अर्कासँग जोड्ने गरी यो अवधारणा हामीले अघि सारेका हौँ । बृहत् रुपमा लुम्बिनी सर्किटको अवधारणा छ ।” पर्यटकीय स्थलहरूलाई नवीतम रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने गरी अघि बढाउन आवश्यक रहेको उहाँको भनाई छ । 

उहाँले पार्कहरूमा सिमेन्टबाट बन्ने संरचनालाई निरुत्साहित गर्दै स्थानीय काठ तथा सामाग्रीको प्रयोग गरेर कलात्मक आकृति तथा पर्यटन पूर्वाधार निर्माण गरिनुपर्ने बताउनुभयो ।

“यहाँको पार्कमा जुन कलात्मक सृजना देखियो । अन्य पार्कहरूमा पनि यहाँको सिकाई हस्तान्तरण गर्न जरुरी छ । हाम्रा पार्कहरूमा संक्रिट मोह बढ्दै गएका छन् । त्यसलाई निरुत्साहित गर्न जरुरी छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “काठ र स्थानीय सामाग्रीको प्रयोग गरेर आकृति बनाउन जरुरी छ । यसमा प्रदेश सरकारले पनि पहल लिन्छ ।”

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माणदेखि कार्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा लगेको जानकारी दिनुभयो । 

उहाँले बर्दियामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरेको बताउँदै अव देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्रचारप्रसार अभियानलाई तीव्र पार्न आह्वान गर्नुभयो। “देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न जरुरी छ”, उहाँले भन्नुभयो “यसका लागि समुदायको सक्रियता, तपाईँहरूको सक्रियता बढ्न जरुरी छ ।” उहाँले सामुदायिक वन क्षेत्रभित्र बुद्ध राष्ट्रिय उद्यान निर्माण हुँदा एउटा पर्यटकीय गन्तव्य बन्न सफल भएको समेत बताउनुभयो ।

बुद्ध सामुदायिक वन उपभोक्ता समूहले वन, वातावरण तथा जैविक विविधता संरक्षणका साथै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले काठबाट विभिन्न आकृति निर्माण गरेर प्रदर्शनीमा राखेको छ । ४९ हजार सात सय ५२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन वि.सं. २०५६ सालमा स्थापना भएको थियो । २०६९ सालमा कार्ययोजना स्वीकृत भएर अघि बढेको सामुदायिक वनमा अहिले चार हजार ९ सय ९३ उपभोक्ता प्रत्यक्ष जोडिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button