तपाईँ सुन्दै हुनुहुन्छः

संघीय निजामती सेवा ऐन छिटो ल्याउन कर्मचारी सङ्गठनको माग

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले संघीय निजामती सेवा ऐन छिटो ल्याउन सरकारसँग माग गरेको छ । 

सङ्गठनले आज काठमाडौँमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले संघीय निजामती ऐनका सम्बन्धमा हाल संसदीय समितिमा छलफल जारी रहेकाले सो ऐन सकभर संसद्को अबको अधिवेशनबाट पारित गर्न माग गर्नुभयो । 

अध्यक्ष कोइरालाले अधिवेशनबाट पारित गर्न समय लाग्ने भए अध्यादेशबाट भएपनि संघीय निजामती ऐन छिट्टै ल्याउनुपर्नेमा जोड दिनुहुँदै त्यस्तो हुन नसके सङ्गठन आन्दोलनमा उत्रनुको विकल्प नरहने बताउनुभयो । 

कार्यक्रममा नेपाल निजामती कर्मचारी सङ्गठनका उपाध्यक्ष भवानी दाहालले प्रदेश र स्थानीय तहलाई जोड्दै संघीय निजामती सेवा ऐन आउनेमा आफूहरू आशावादी रहेको बताउनुभयो । 

यस्तै सङ्गठनका उपमहासचिव युवाचन्द्र घिमिरेले तलब सुविधा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयनमा ल्याउन, निजामती कर्मचारीको सावधिक जीवन बिमालाई वृद्धि गरी १० लाख रुपैयाँ पुर्‍याउन, १ सय ८० दिन भन्दा बढी सञ्चित घर बिदा बापतको रकम वार्षिक रुपमा भुक्तानी गर्ने व्यवस्था गर्न लगायत सङ्गठनको सरकारसँग माग रहेको बताउनुभयो ।

नेपाल निजामती कर्मचारी सङ्गठनले पौष १ र २ गते बसेको केन्द्रीय परिषद् बैठक र प्रथम विधान अधिवेशनबाट भएका निर्णयहरू बारे जानकारी दिन आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button