तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा चितुवा देखिन थालेपछि स्थानीय त्रसित

डडेल्धुरा ।  डडेल्धुरामा चितुवा देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् । पुस २ गते जिल्ला सदरमुकाम नजिकै रहेको अमरगढी –१ ढुनढुनेमा एउटा चितुवा लट्ठिएको अवस्थामा स्थानीयले देखेका थिए । उक्त चितुवा सानो ठाउँमा घुम्दै बस्दै गरेको देखेपछि स्थानीयले प्रहरी र डिभिजन वन कार्यालयलाई खबर गरे । 

स्थानीय, वन कर्मचारी र प्रहरीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिइयो र त्यसको भोली पल्ट उक्त चितुवालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिएको डिभिजन वन कार्यालय डडेल्धुराका सूचना अधिकारी रणेन्द्र सिंहले जानकारी दिनु भयो । तर अझैपनि उक्त क्षेत्रका स्थानीयहरू अरू चितुवाहरू पनि राती कराउने गरेको भन्दै चिन्तित छन् । 

त्यसैदिन अर्को चितुवा गन्यापधुरा गाउँपालिका वडा नं १ मा रहेको रडुवाखोलामा सडक नालीमा देखिएको यात्रु हुकुम डाँगीले बताउनु भयो । 

साँझपख डोटीबाट डडेल्धुरा आउने क्रममा नाली भित्र लुकेर बसेको अवस्थामा रहेको चितुवाले झम्टिन आएकोमा आफु भागेर आएको र अलिकति अघाडीको बाइकमा रहेको यात्रुलाई पनि झम्टिन आएकोमा उहाँ पनि बच्न सफल भएको डाँगीले बताउनु भयो । 

डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार पछिल्लो पटक चितुवा मानव बस्ती तर्फ सर्न लागेको छ । तीन वर्षको अवधिमा १२ वटा चितुवाहरू पासोमा परेको र मरेको अवस्थामा भेटिएका छन् ।

उक्त अवधिमा जिल्लाको भागेश्वर गाउँपालिका वडा नं १ रुपालमा १ महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । उक्त अवधिमा किसानले पालेका १२ जति पशुचौपाया माथि चितुवाले आक्रमण गरेको छ । जङ्गलतिर चिसो बढ्नु, चितुवाको आहारा प्रशस्त नपाइनु जस्ता कारण चितुवा मानव बस्ती तिर सर्न लागेको हुन सक्ने अनुमान डिभिजन वन कार्यालयको छ । 

कार्यालयका सूचना अधिकारी सिंह प्राय चितुवा बेलुका र राती बढी सक्रिय रहेको हुँदा सावधानी अपनाउनु पर्ने बताउनु हुन्छ । 

चितुवा लोपोन्मुख जनावरमा नपर्ने भएकाले कति सङ्ख्यामा रहेका छन् भन्नेबारे एकिन तथ्याङ्क नभएपनि बिगत ४ बर्ष देखि चितुवाको सङ्ख्या बढ्दै गएको देखिन्छ । 

चितुवाको आक्रमणबाट मृत्यु भएमा,वा घाइते भएमा क्षतिपूर्तिको व्यवस्था गरिएको छ भने यस आर्थिक वर्ष देखि घरपालुवा जनावरलाई चितुवाले आक्रमण गरि घाइते बनाएमा वा मारेमा वन्य जन्तु राहत निर्देशिका अनुसार जिल्लाबाटै क्षतिपूर्ति दिने व्यवस्था सुदूरपश्चिम प्रदेश सरकारले गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button