तपाईँ सुन्दै हुनुहुन्छः

बाढीपहिरो प्रभावित क्षेत्रको पुर्ननिर्माण सम्बन्धी कार्यविधि अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा  विपद जोखिम न्यूनीकरण र विपद व्यवस्थापनमा सिकाई तथा आगामी कार्ययोजना विषयक कार्यशाला गोष्ठी कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि पुस दोस्रो सातासम्ममा कार्यविधि निर्माण भइसक्ने बताउनुभएको छ  ।  

गृह मन्त्रालयले पुर्ननिर्माण सम्बन्धी कार्यविधि बनाएर मन्त्रीपरिषदमा पेश गरेको र मन्त्रीपरिषद्ले निर्णय गरिसकेको भन्दै उहाँले कार्यविधि विधेयक परिषद्मा पुगेको जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्ले निर्णयलाई अनुमोदन गरेपछि पुनर्निर्माणको काम तीव्र गतिमा अगाडी बढ्ने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो । एकीकृत खानेपानीमा बाढीपहिरोले पुर्याएको क्षतिको आफूले स्थलगत निरीक्षण गरेको बताउँदै उहाँले काभ्रेका तीन वटा पालिकाले लिखित आग्रह गरेमा आयोजना पुनर्निर्माणको जिम्मा खानेपानी मन्त्रालयले लिने प्रतिबद्धता जनाउनुभएको छ  । आयोजनाको दीर्घकालीन व्यवस्थापन मन्त्रालयले गर्ने समेत उहाँले बताउनुभयो ।

तत्काल राहत पुर्‍याउनको लागि प्रभावित पालिकालाई तीन तहमा विभाजन गरेर पहिलो चरणमा ७१ वटा पालिकालाई १ करोड, ७५ लाख र ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको मन्त्री यादवले जानकारी दिनुभयो  । सबै स्थानीय तहलाई क्षतिको विवरण उपलब्ध गराउन परिपत्र गरिएपनि वास्तविक तथ्याङ्क अझै आइनसकेको उहाँले बताउनुभयो । विपदमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय र नागरिकले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्री यादवले प्रशंसा गर्नुभयो ।

बाढी पहिरोपछिको पुनर्निर्माण छिटो भन्दा छिटो सम्पन्न गर्ने विषयमा सरकारको ध्यान गएको उहाँको भनाई छ । सरकारले काम गरिरहेपनि सरकारलाई बदनाम गर्न केही तत्त्व लागि परेको  उहाँको आरोप छ । सरकारलाई गाली गर्न पैसा खर्च गरेर मान्छे परिचालित गरिएको समेत उहाँले दाबी गर्नुभयो । कार्यक्रममा संघीय सांसद एवं पूर्व मन्त्री गोकुल बास्कोटाले विकासका काम योजनाबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा थप क्षति हुन नदिन खानेपानीको स्रोत, बस्ती क्षेत्र, खोला क्षेत्र छुट्याएर काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा प्रदेश सांसद कन्चनचन्द्र वादे, रत्न ढकाल, लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो । गोष्ठीमा स्थानीय तहका प्रतिनिधिहरूले विपद्मा गरिएको प्रतिकार्य, चुनौती, पुनर्निर्माणका लागि पालिकाले तयार गरेको योजनाका बारेमा कार्य पत्र प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button