सशस्त्र प्रहरी बाँकेद्वारा ५ महिनामा ४ करोड भन्दा बढीको अवैध सामान बरामद
बाँके । सशस्त्र प्रहरी बल नेपाल बाँकेले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ । बाँके जिल्ला सीमा क्षेत्र भारतसँग जोडिएकाले पनि भन्सार छली रोक्नका लागि नियमित रूपमा गस्ती, सीमा क्षेत्रमा जाँच र तालिमप्राप्त कुकुरको प्रयोग गर्दै आइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, ३० नं. गण बाँकेले पाँच महिनामा ४ करोड रुपैयाँभन्दा धेरै मूल्यको विभिन्न अवैध मालसामान बरामद गरेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि मङ्सिर सम्मको यस अवधिमा ४ करोड ३८ लाख ५ हजार ७ सय १५ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरिक्षक बिमल डाँगीले बताउनु भयो ।
३० नं. गणक प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डाँगीले गत साउन महिनादेखि नै तस्करी नियन्त्रण अभियान कार्यक्रम गणले सञ्चालन गरेको र अभियान प्रभावकारी बनाउन गण र गण मातहत बाँकेको सीमा क्षेत्रमा परिचालित बीओपी (बर्डर आउट पोस्ट) मा कार्यरत सबै सशस्त्र प्रहरीलाई प्रशिक्षण दिइएको बताउनु भयो ।
‘तस्करी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सुरुमा सशस्त्र प्रहरीलाई नै प्रशिक्षण दिइएको थियो,’ डाँगीले भन्नुभयो, ‘बरामद गरिएका अवैध सामानसँगै यस अवधिमा केही पेसेवर तस्करलाई पनि नियन्त्रणमा लिई भन्सार कार्यालयमार्फत कारबाहीमा परेका छन् ।’
सशस्त्र प्रहरीले जिल्लामा आव २०८०र८१ मा भने १३ करोड ८० लाख ९५ हजार २ सय ७० मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छलीका सामान बरामद गरेको थियो ।
सशस्त्र प्रहरी उपरीक्षक डाँगीले चोरी तस्करी भन्सार छली विरुद्धमा सशस्त्र प्रहरीले शून्य सहनशीलता नीति अनुरुप कारबाही अघि बढाएको बताउनु भयो । ‘हाम्रो टोलीले जहाँ तस्करका अवैध गतिविधि देख्यो, त्यही फिल्डमै कारबाही गछौँ, ‘उहाँले भन्नुभयो, ‘गैर कानुनी गतिविधि तत्काल नियन्त्रण गर्छौँ ।’ भन्सार छली चोरी विरुद्धमा सशस्त्र प्रहरीले निरन्तर कारबाही गर्ने चेतावनी दिनु भएको छ । एसपी डाँगीले नागरिकले समेत तस्कर विरुद्धमा निरन्तर खबरदारी गर्न जरुरी रहेको बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्