तपाईँ सुन्दै हुनुहुन्छः

प्रादेशिक सरुवा रोग अस्पताल भवनको शिलान्यास

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२, छिन्चुमा प्रादेशिक सरुवा रोग अस्पताल भवनको शिलान्यास गरिएको छ । 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आज एक भव्य कार्यक्रमका बीच ५० शय्याको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्नु भएको हो । भवन शिलान्यास गर्दै खड्काले पूर्वी सुर्खेती जनताको लामो समयदेखिको मागलाई जग्गा अधिग्रहण प्रक्रियाले तीन वर्ष ढिलाइ भएपनि अब भने अस्पताल भवन निर्माण प्रक्रियाले निरन्तरता पाउने बताउनु भयो । विकास, उन्नति र प्रगति कुनै एक ठाउँका लागि नहुने बताउँदै उहाँले प्रादेशिक सरुवा रोग अस्पतालले सिङ्गो कर्णालीका जनतालाई स्वास्थ्य सेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 

कतिपय योजना निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीका कारण समयमै काम नहुने अवस्था रहेको बताउँदै उहाँले विकास÷निर्माणमा छुटाइएको बजेटलाई समयमै सदुपयोग गर्ने वातावरण बनाइनुपर्नेमा जोड दिनुभयो । सबै राजनीति दल, नागरिक समाजसँग छलफल गरेर संविधान कार्यान्वयनमा देखिएका जटिलता संशोधनका माध्यममार्फत सम्बोधन गर्न लागिएको बताउँदै उहाँले  विशिष्ट परिस्थितिमा बनेको वर्तमान गठबन्धन सरकार आगामी चुनावसम्म तलमाथि नहुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । 

सरकार सञ्चालन संयन्त्रका प्रमुखसमेत रहनु भएका खड्काले साना राजनीति दलहरूलाई बोक्दा देशमा अस्थिरता पैदा भएकाले पनि प्रमुख दुई दल नेपाल काँग्रेस र नेकपा एमाले बीच सरकार सञ्चालनका लागि गठबन्धन बनेको जिकिर गर्नु भयो । संघीय सहरी विकास कार्यालयका प्रमुख कमलकुमार दर्लामीले ५० बेडको प्रादेशिक अस्पतालका लागि बजेट अभाव नभएकाले समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो । 

उहाँका अनुसार ३१ करोड १५ लाख ४६ हजारमा अस्पताल भवन निर्माणको चक्रेश्वरी कुलेश्वर सिएलजेभीले ठेक्का पाएको छ । ४.९ हेक्टर जमिनमा फैलिने अस्पताल भवन २०८३ साउन १२ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button