तपाईँ सुन्दै हुनुहुन्छः

मिटर ब्याज सम्बन्धी १ हजार २ सय ३९ उजुरी मेलमिलाप

वीरगन्ज  ।  पर्सामा मिटर ब्याज सम्बन्धी २ हजार २ सय २८ उजुरी दर्ता भएकोमा आज सम्म  १ हजार २ सय ३९ उजुरीमा मेलमिलाप भइसकेको छ । 

मिटर ब्याजसम्बन्धी उजुरीमार्फत हालसम्म ३५ करोड ७२ लाख ९५ हजार ३८१ रुपैयाँ माग दाबी गरिएको छ । यसमध्ये २२ करोड १७ लाख ८० हजार १८२ रुपैयाँको मेलमिलाप भएको छ ।

अहिले पनि पर्सामा  मिटर ब्याजसम्बन्धी उजुरी दर्ता गर्ने क्रम तीव्र गतिमा जारी छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट प्राप्त तथ्याङ्कअनुसार १६ सय ६३ उजुरी प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा पठाइएको छ भने ५ सय ६५ उजुरी सोझै जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । ती उजुरीमध्ये हालसम्म २७ वटा मुद्दा अदालतमा दर्ता गरिएको छ ।

दर्ता भएका उजुरीमध्ये १ हजार २ सय ३९ उजुरीमा मेलमिलाप भइसकेको छ । प्रहरी र प्रशासनको प्रयासमा ९ सय ६२ उजुरीको मेलमिलाप प्रक्रिया जारी छ । यसबिचमा मिटर ब्याजको अनुसन्धानका क्रममा दुई जना महिलासहित १६ जना पक्राउ परेका छन् ।

मिटर ब्याजसम्बन्धी उजुरीमार्फत हालसम्म ३५ करोड ७२ लाख ९५ हजार ३८१ रुपैयाँ माग दाबी गरिएको र यसमध्ये २२ करोड १७ लाख ८० हजार १८२ रुपैयाँको मेलमिलाप भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो । 

मेलमिलापका क्रममा ३३ बिगाह २ कट्टा १९ धुर ८ कन्वा घरजग्गा र अन्य जिन्सी सामान पीडितलाई फिर्ता गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत ५ करोड ५९ लाख ६६ हजार ५६१ रुपैयाँ बिगो रकम फिर्ता भएको छ । साथै, १८ बिघा १३ कट्टा १७ धुर ९ कन्वा घरजग्गा र जिन्सी सामान पीडितलाई उपलब्ध गराइएको छ ।

त्यसै गरी, प्रहरी कार्यालयमार्फत १६ करोड ५८ लाख १३ हजार ६२१ रुपैयाँको बिगो रकम मेलमिलाप गराइएको छ । यसअन्तर्गत १४ बिघा ९ कट्टा २ धुर ८ कन्वा घरजग्गा र अन्य सामान पनि फिर्ता गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार मिटर ब्याजसम्बन्धी उजुरीहरू आउने क्रम अहिले पनि रोकिएको छैन । उहाँले यस्ता उजुरीमा प्रहरीको अनुसन्धान तीव्र रहेको र पीडितलाई न्याय दिलाउने कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button