तिलगंगा विश्वविद्यालय विधेयकमाथि विज्ञहरुसँग छलफल

काठमाडौँ I राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले तिलगंगा विश्वविद्यालय विधेयकमाथि आज शिक्षा तथा काननविद्सँग छलफल गरेको छ ।
संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा पूर्वमन्त्री एवम् कानुनविद् माधवप्रसाद पौडेलले तिलगंगा विश्वविद्यालयलाई नेत्र अध्ययन प्रतिष्ठानका रुपमा स्थापना गरिनुपर्नेमा जोड दिनुभयो ।
विश्वविद्यालयको सञ्चालक समितिमा काठमाडौँ महानगरपालिकाको प्रतिनिधिसमेत राख्नुपर्ने उहाँको सुझाव थियो ।
शिक्षा मन्त्रालयअन्तर्गत रहने गरि ल्याइएको विश्वविद्यालय विधेयक स्वास्थ्य मन्त्रालयअन्तर्गत राखिनुपर्ने र सम्बन्धित मन्त्रालयको सहसचिव नभइ सचिवको प्रतिनिधित्व रहने गरी विधेयक संशोधन गर्न कानुनविद् पौडेलले सुझाव दिनुभयो ।
बैठकमा शिक्षाविद् डाक्टर विद्यानाथ कोइरालाले आँखासम्बन्धी अध्ययन, अध्यापन, र अनुसन्धानलगायतमा केन्द्रित हुनेगरी विधेयकमा कानुनी व्यवस्था गर्न सुझाव दिनुभयो ।
त्यसैगरी सांसदहरु नारायणकाजी श्रेष्ठ, सुरेश आलेमगर, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ र झक्कुु सुवेदीलगायतले तिलगंगा विश्वविद्यालय बनाउने कि प्रतिष्ठान बनाउने भन्नेमा स्पष्ट भएपछि मात्रै विधेयक अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
अरूभन्दा फरक प्रकृतिको विश्वविद्यालय भएकाले यसबारे चौतर्फी छलफल गरेर सुझाव सङ्कलन गर्नुपर्ने विचार सांसदहरुले व्यक्त गर्नुभयो ।
समितिकी सभापति तुलसादेवी दाहालले तिलगंगा विश्वविद्यालयका परिकल्पनाकार सन्दुुक रुइतसँग यही पौष ४ गते समितिमा छलफल गरिने जानकारी गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्