तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको जीराभवानी अस्पताल निर्माण चार वर्षदेखि अधूरै

वीरगंज  । पर्साको जीराभवानी गाउँपालिका बडा नम्बर–२ सेढवास्थित आधारभूत अस्पताल निर्माणको चार वर्ष बित्दा पनि अझै अधूरो रहेको छ । 

१० शय्याको अस्पताल निर्माणको लागि पुरानो भवन भत्काएर बनाउन सुरु गरिएको थियो ।८ करोड लागतमा ओम बुद्ध कन्स्ट्रक्शनले २०७७÷७८ मा ठेक्का सकार गरेको थियो । सम्झौता अनुसार २०७९ सालमा आधारभूत अस्पताल निर्माण गरेर हस्तान्तरण गर्नुपर्ने थियो तर अहिलेसम्म यो अस्पतालको निर्माण कार्य २० प्रतिशत मात्र बनेको छ ।

जीराभवानी गाउँपालिका बडा नम्बर–२ का वडाध्यक्ष महादेव महतोले अस्पताल निर्माणको लागि आफूले बारम्बार ठेकेदारलाई ध्यानाकर्षण गराएको भएपनि ठेकेदारले अटेरी गरेको बताउनुभयो ।  

अस्पताल नबन्दा तीन पालिकाका बिरामीहरूलाई समस्या भएको छ । यो अस्पतालमा जीराभवानी, जगरनाथपुर र ठोरी गाउँपालिकाका मानिसहरूले स्वास्थ्य सेवा लिँदै आएका थिए । बर्थिङ सेन्टरसहितको आधारभूत अस्पताल अहिले सामुदायिक भवनमा सञ्चालित छ ।

विगतमा मासिक ५० जना गर्भवती महिलाको उपचार हुँदै आएकामा अहिले सामान्य बाहेक शल्यक्रिया गर्ने कार्य बन्द रहेको छ । कोठाको अभावले सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको स्वास्थ्य चौकी इन्चार्ज ज्ञानकिशोर महतोले बताउनुभयो ।

सामुदायिक भवनमा कोठा अभावले सेवा प्रदान गर्न समस्या भएको र जेनतेन दैनिक रोगीहरूको उपचार भइरहेको समेत बताउनुभयो ।  

यसैबीच, जीराभवानी गाउँपालिकाले सामुदायिक अस्पतालमा गर्भवती महिलाहरूको उपचारमा समस्या भएपछि अर्को सामुदायिक भवनमा ४ महिनादेखि बर्थिङ सेन्टर सञ्चालन गर्दै आएको  वडाध्यक्ष महतोले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button