मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व आवश्यक : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व आवश्यक रहेको हुँदा निर्वाचनबाट बलियो शक्ति स्थापना गरेर त्यसकै जगमा स्थिर सरकार निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय सङ्गठन विभागको आयोजनामा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आजदेखि सुरु भएको राष्ट्रिय कार्यशालामा महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि स्थिर सरकार निर्माण गर्नुपर्ने बताउनुभयो ।

स्थानीय तहदेखि नै युवा र महिलाको क्षेत्रमा विशेष जोड दिएर काम गर्नुपर्ने उल्लेख गर्नुहुँदै महासचिव पोखरेलले योजना बनाए बमोजिम काम नगरे अपेक्षित परिणाम आउँदैन भन्ने कुरालाई नेतृत्वमा रहने सबैले बुझ्नुपर्ने बताउनुभयो । उहाँले पार्टी कमिटीहरूले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्वका साथ काम गर्नुपर्नेमा त्यस्तो नभइरहेको बताउनुभयो ।
महासचिव पोखरेलले भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणाम हेर्दा विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताउनुभयो ।
उहाँले स्थानीय तहमा जनप्रतिनिधिले गर्ने काम पार्टी निर्माणमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने बताउनुभयो ।
कार्यशालामा एमाले स्थायी कमिटी सदस्य तथा केन्द्रीय सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा एमाले स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले एमालेलाई देशको निर्विकल्प शक्ति बनाउने हो भने जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टीलाई नयाँ गतिका साथ अझ सशक्त रूपमा अगाडि बढाउन यो कार्यशाला आयोजना गरिएको बताउनुभयो ।
कार्यशालामा पार्टीका उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सचिव लेखराज भट्ट, पद्मा अर्याल, स्थायी कमिटी सदस्यहरू किरण गुरुङ, डा.राजन भट्टराई, शेरधन राई, राजेन्द्र गौतम, गोरखबहादुर बोगटी, लीलानाथ श्रेष्ठलगायतका उपस्थिति रहेको थियो ।
त्यस्तै ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने कार्यशालामा प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव र सङ्गठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई जना महिला, जनसङ्गठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित मेयर, उपमेयरहरूको सहभागिता रहने छ ।








प्रतिक्रिया राख्नुहोस्